बाँकेको राप्तीसोनारी गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममा उल्लेख गरेको छ, ‘विद्यालयमा मेरो एक दिन ।’ गुणस्तरीय शिक्षाका लागि यो कार्यक्रम कोशेढुंगा सावित हुने अपेक्षा थियो, तर त्यसो भएन् । यो कार्यक्रम प्रभावकारीरुपमै कार्यान्वय हुन सकेको छैन । जसले यहाँको शिक्षा सुधारमा गरिएको अपेक्षा निराशामा बदलियो ।
उक्त कार्यक्रमको बुँदा नम्बर ५० मा कार्यक्रम लागू गरी महिनामा एकपटक जनप्रतिनिधि विद्यालयमा जाने व्यवस्था गरिने उल्लेख छ । शिक्षा क्षेत्रलाई विशेष प्राथमिकता दिएको राप्ती सोनारी गाउँपालिकाले शिक्षा क्षेत्रको लागि यस्ता थुपै्र नारा बनाएको छ ।
बुँदा नम्बर ३४ मा गुणस्तरीय र जीवनोपयोगी शिक्षामा लगानी’ भन्ने नाराका साथ आधारभूत तह अनिवार्य निःशुल्क र माद्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने विद्यालयलाई विभेदरहित, बालमैत्री बनाउनुका साथै बहु प्राविधिक तथा छात्रवृत्ति उपलब्ध गराइनेछ, भनिएको छ ।
बुँदा नम्बर ५१ मा ‘दक्ष शिक्षक, नियमित विद्यार्थीः प्रभावकारी शिक्षण गुणस्तरीय सिकाई’ को नीति लिइएको छ भने ‘आत्म अनुशासनका लागि खेलकुद’ नारा मार्फत खेलाडिलाई प्रोत्साहित र पूर्वाधारमा लगानी वृद्धि गरिनेछ भन्ने नीति ६३ औं बुँदामा छ । यसैगरि छोरी साक्षरता कार्यक्रम, गाउँपालिकाका स्थायी नागरिकलाई एमबीबीएस पढाउन गाउँपालिकाले छात्रवृत्ति प्रदान गर्नेछ ।
यस्तै थुप्रै नारा उल्लेख गरिएका छन्, नीति तथा कार्यक्रममा । तीमध्ये ‘विद्यालयमा मेरो एक दिन’ स्थानीय तहको कायापलट गर्छौं भन्दै कसम खाएका जनप्रतिनिधिसँग जोडिएको विषय हो । यस विषयमा गाउँपालिकाका अध्यक्ष लाहुराम थारुलाई जिज्ञासा राख्दाँ आफू शैक्षिक सुधारको लागि विद्यालयहरुको अनुगमनमा जाने गरेको दाबी गरे ।
तर, उनले जनप्रतिनिधिलाई अनिवार्य जस्तै गरेर नीति तथा कार्यक्रममा उल्लेख गरिएको कार्यक्रमकै लागि यति दिन गए भन्न सकेनन् । गाउँपालिकाकी उपाध्यक्ष धनी कुमारी खत्री चालू आवको ६ महिनामा जम्मा २ पटक मात्रै विद्यालयमा पुगेकी छन् । उनी भन्छिन्, ‘यो महिनामा २ पटक गएको छु । अलि पहिला कोरोना भयो, गइरहेकी थिए । फेरि कोरोना आइ हाल्यो ।’ चालू आवको ६ महिनासम्म आइपुग्दाँ त्यति नै समयमा जानु पर्ने हो, तर गाउँपालिकाको जिम्मेवार पदमा रहेकी उनी कार्यक्रमप्रति जिम्मेवार नभएको पाइएको छ ।
वडा नम्बर ९ का अध्यक्ष महावीर ओलीले त कार्यक्रमका विषयमा सुरुमा अनविज्ञता प्रकट गरेँ । पछि कार्यक्रमका थप विषयमा जानकारी दिएपछि आफू अक्सर विद्यालयको स्थितिका विषयमा जानकारी लिन जाने गरेको बताए । विद्यालयमा मेरो एक दिन भन्ने कार्यक्रम मात्रै नभइ समग्र अवस्था हेर्न आफू विद्यालय जाने गरेको उनको भनाइ छ । वडा नम्बर ९ मा ४ सरकारी विद्यालय रहेका छन् ।
उनले आफूले शैक्षिक कार्यक्रम अनुगमनका लागि पुस महिनामा मात्रै ४ पटक विभिन्न विद्यालयमा पुगेको वडा अध्यक्ष ओलीको दाबी छ । वडा नम्बर १ का अध्यक्ष चन्द्र बहादुर ओली आफू वडाध्यक्षको नाताले विद्यालय अनुगमनमा गइरहने तर, त्यसको अभिलेख भने नराखेको बताउँछन् ।
जनप्रतिनिधिहरुले विद्यालयमा जाने र अनुगमन गर्ने दाबी गरेपनि स्वयम् विद्यालय प्रशासनलाई भने यो विषयमा कुनै जानकारी नै छैन । गाउँपालिका स्तरीय शिक्षा शाखा प्रमुख जीवन न्यौपाने यो कार्यक्रम प्रभावकारी भएको दाबी गर्छन् । उनका अनुसार जनप्रतिनिधिहरु विद्यालय जान थालेपछि शैक्षिक सुधार भएको छ ।
स्कुल जाने सेड्युल बनाएका छौं
लाहुराम थारु
अध्यक्ष राप्तीसोनारी गाउँपालिका
शिक्षा क्षेत्रको विकास हाम्रो प्रमुख दायित्व हो । स्थानीय सरकारले शिक्षा विकासलाई प्रमुखताका साथ अघि बढाइरहेको छ ।
नीति तथा कार्यक्रममै उल्लेख गरेर योजना अनुसार शैक्षिक क्षेत्रको विकास भइरहेको छ । म त धेरै पटक गएको विद्यालयमा त्यहाँको अवस्था बुझ्छु । पहिला सरकारी विद्यालयको अवस्था दयनीय थियो ।
अभिभावक विद्यालय नै आउँदैन थिए । अहिले भने हाम्रो र विद्यालय प्रशासनको पहल सफल भएको छ । वडाले समेत यस कार्यक्रमलाई निरन्तरता दिएका छन् ।
यस कार्यक्रमले विद्यार्थीलाई नियमित विद्यालय आउन प्रेरित गरेको छ ।
यो मात्रै होइन समग्र विद्यालयको विकासको लागि पूर्वाधारमय बनाएका छौँ । यो मात्रै होइन अन्य धेरै काम लागू गरेको छ राप्ती सोनारी गाउँपालिकाले । कुन महिना कहाँ जाने भनेर सेड्युल बनाएका छौँ ।
अनुगमनमा आएको थाहा छैन
लक्ष्मण प्रसाद आचार्य
प्रधानाध्यापक
लक्ष्मी माध्यमिक विद्यालय
‘विद्यालयमा मेरो एक दिन’ भन्ने शीर्षकमा जनप्रतिनिधिहरु विद्यालयमा अनुगमन गर्न आउनु भएको छैन । तर अन्य कुरामा अनुगमन, निरीक्षण तथा विभिन्न कामका लागि वडाध्यक्ष ज्यूहरु आउने गर्नुहुन्छ ।
अभियानकै रुपमा सबै आउने गरेको चाँही मैले देखेको छैन । वडाध्यक्ष विद्यालय व्यवस्थापन समितिको पदेन सदस्य हुनुहुन्छ । हरेक बैठकमा आउने चाँही गर्नुभएको छ । तपाइले भने जस्तै विद्यालयमा ‘मेरो एक दिन कार्यक्रम’ ल्याएर कोही पनि मेरो विद्यालयमा आउनु भएको छैन ।
कार्यक्रम प्रभावकारी देखियो
जीवन न्यौपाने
शिक्षा शाखा प्रमुख
यो कार्यक्रम विशुद्ध जनप्रतिनिधिलाई लक्षित गरेर राखिएको हो । उहाँहरु कम्तिमा एकपटक भएपनि विद्यालय जानुपर्छ । कार्यक्रमलाई शाखाको तर्फबाट पनि निरन्तरता दिइएको छ ।
उहाँहरु एकपटक भएपनि विद्यालय जाने गर्नुभएको छ । हामीले शिक्षा समितिमै निर्णय गरेका छौँ । पालिकाका सम्पूर्ण जनप्रतिनिधि एक महिनामा एकपटक विद्यालय जाने भनेर ।
यसले विद्यालय छोड्ने दरमा कमि ल्याएको छ । राप्ती सोनारीमा मधेशी समुदायमा शैक्षिक अवस्था नाजुक छ । त्यहाँका बालबालिकाहरु बढी विद्यालय छोड्ने गरेका छन् ।
तर, अहिले जनप्रतिनिधिले यो कार्यक्रम लागू गरेपनि जागरण आएको छ । यतिमात्रै होइन अन्य शैक्षिक सुधार समेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्