ओखलढुंगामा गुडिरहेको बोलेरो गाडीलाई माथिबाट खसेको ढुंगाले किच्दाँ तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य तीन जना गम्भीर घाइते छन् ।
ओखलढुंगा निशंखे सडकखण्ड अन्तर्गत सिद्धिचरण नगरपालिका ३ नारायणस्थानमा सडक माथिबाट खसेको ढुंगाले लागेर बोलेरोमा सवारमध्ये तीनजनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका वडा नं. १ युषक कोईराला, युनिषा कोईराला र मानेभञ्ज्याङ्ग गाउँपालिका १ हेम बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढंगाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक काफ्लेका अनुसार, घटनामा परी चालक सहित अन्य तीन जना घाइते भएका छन् ।
निशंखे भञ्ज्याङबाट जिल्ला सदरमुकाममा आउँदै गरेको को १ ज ३५६९ नम्बरको बोलेरोलाई सिद्धिचरण नगरपालिका ३ नारायणस्थानस्थित सोतीभरिमा डोजरले निकालेको ढुंगा पल्टिएर किचेको बताइएको छ।
दुर्घटनामा परेर सिद्धिचरण नगरपालिका १ का लक्ष्मी कोईराला, मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. १ देव बहादुर श्रेष्ठ र चालक सञ्जिव श्रेष्ठ घाइते भएका छन् ।
उनीहरुलाई उपचारका लागि ओखलढुंगा सामुदायिक अस्पतालमा ल्याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि दुईजनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लाने तयारी गरिएको छ ।
घाईते मध्ये चालक सञ्जिव र देब बहादुरलाई काठमाण्डौ पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्