14 June 2024  |   शुक्रबार, असार १, २०८१

कोहलपुर नगरपालिकासँग पत्रकार महासंघद्धारा पत्रकारप्रतिको धारणा माग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, माघ ८, २०७८  

कोहलपुर ।

नेपाल पत्रकार महासंघ बाँके शाखाले कोहलपुर नगरपालिकासँग आमसञ्चारमाध्यम र पत्रकारप्रतिको आफ्नो धारणा सार्वजनिक गर्न माग गरेको छ ।

कोहलपुर नगरपालिकाले बिहीबार मात्र सञ्चारमाध्यम तथा पत्रकारमाथि गम्भीर आरोप लगाउँदै एक सूचना जारी गरेको थियो । सोही विषयमा पत्रकार महासंघले शुक्रबार जिल्लाका विभिन्न पेशागत संगठनहरुसँग छलफल गरेको थियो ।

पत्रकार र पत्रकारिता क्षेत्रप्रति लगाएका गम्भीर आरोपसहितको सार्वजनिक सूचनाप्रति महासंघ तथा पेशागत संगठनहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

छलफलपश्चात पत्रकार महासंघ बाँके शाखाका सचिव कमल डाँगीले जारी गरेको सूचनामा भनिएको छ, ‘कोहलपुर नगरपालिकाले ‘कार्यदेशबिना भुक्तानी नगरिनेसम्बन्धी सूचना’ का नाममा पत्रकार र पत्रकारिता क्षेत्रप्रति लगाएका गम्भीर आरोपसहितको सार्वजनिक सूचनाका विषयमा नेपाल पत्रकार महासंघ बाँकेसहित विभिन्न पेशागत संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

उक्त सूचना समग्रमा पत्रकारिता क्षेत्रलाई बद्नाम गर्ने नियतबाट प्रेरित भई प्रकाशन भएको, त्यहाँका जनप्रतिनिधि र कर्मचारीतन्त्रको सञ्चार क्षेत्रप्रति हेर्ने गलत दृष्टिकोण उजागर भएको सामूहिक निष्कर्ष निकालिएको छ ।’

महासंघ बाँकेका सचिव डाँगीले जारी गरेको सूचनामा कुनै पनि कार्य गरेबापत विभिन्न कागजपत्र हेरेर भुक्तानी गर्ने नगर्ने अधिकार र कानुनी प्रावधान स्वयम् कोहलपुर नगरपालिकालाई भएको, तर सञ्चार माध्यमलाई र स्वतन्त्ररुपमा काम गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई बदनाम गराउने उद्देश्यले निकालिएको सूचनाप्रति खेद प्रकट गरिएको छ ।

‘खरिद ऐन नियमावली, कार्यदेश, कार्यसम्पन्न प्रतिवेदनलगायतका प्रावधानपश्चात मात्र रकम भुक्तानी गरिने कानुनी प्रावधान हुँदाहुँदै त्यसको पालना गर्नुको साटो समग्र सञ्चारमाध्यम र पत्रकारको नाम जोडेर सार्वजनिक सूचना निकाल्नु बदनियतपूर्ण कार्य भएको हाम्रो निष्कर्ष छ,’ छलफलपछि जारी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

‘पछिल्लो समय सञ्चार माध्यममा प्रसारण, प्रकाशन हुने आलोचनात्मक विषयलाई स्वीकार गर्न नसक्ने तर, त्यसको बदलामा आर्थिक विषय जोडेर पत्रकार र पत्रकारिता क्षेत्रलाई बदनाम गर्दै प्रेस स्वतन्त्रताको घाँटी निमोठ्न खोज्ने प्रवृत्ति पटकपटक दोहोरिरहेको हामीले महसुस गरेका छौं । पेशागत मर्यादा, आचारसंहिताको पूर्णपालना, स्वस्थ्य व्यावसायिक प्रतिस्पर्धा र राज्यद्वारा निर्देशित नियम कानुनको परिपालनामा हामी कसैसँग सम्झौता गर्दैनौं ।’ सचिव डाँगीद्वारा जारी सूचनामा भनिएको छ ।

पेशागत मर्यादा र आचारसंहिताको पूर्णरुपले पालना गर्दागर्दै पनि अनावश्यक र सत्य नठहर्ने विषयलाई जोडेर अमूर्त शैलीमा पत्रकारिता क्षेत्रलाई बदनाम गर्ने प्रवृत्तिको निन्दा र भœर्सना गर्दै छलफलमा त्यसको सामूहिकरुपमा कडा प्रतिवाद गर्ने निर्णयसमेत भएको थियो ।

‘साथै आमसञ्चारमाध्यम र पत्रकारप्रति कोहलपुर नगरपालिकाको आधिकारिक धारणा सार्वजनिक गर्न माग गर्दछौं । अन्यथा कडा कदम चाल्न बाध्य हुने जानकारी गराउँदछौं,’ जारी सूचनामा भनिएको छ ।

नगरपालिकाले पत्रकारिता क्षेत्रप्रति नै गम्भीर आरोप लगाएको विषयमा महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस सेन्टर बाँकेका सचिव संगीन शर्मा र प्रगतिशील पत्रकार संघ बाँकेका कार्यबहाक संयोजक तिलक गाउँले तथा महासंघ बाँकेका पदाधिकारीहरुको उपस्थितिमा छलफल भएको थियो ।

प्रकाशित मितिः शनिबार, माघ ८, २०७८     10:46:04 AM  |