उपभोक्ता भन्छन्, ‘सगरमाथा सिमेन्टले डुबायो’



दाङ ।

घोराही उपमहानगरपालिका–१४ का कृष्णकुमार बुढा मगरले घर निर्माणका लागि घोराही सिमेन्ट उद्योग दाङबाट उत्पादित सगरमाथा सिमेन्ट प्रयोग गरे । गुणस्तरीय र टिकाउ हुने विश्वाससहित उनले उक्त सिमेन्ट प्रयोग गरेका थिए ।

तर, उनको विश्वास सिमेन्टले दिलाउन सकेन । उनी भन्छन्, ‘सगरमाथा सिमेन्ट गुणस्तरहीन हुँदा मेरो घर कमजोर बन्यो ।’

बुढाले घर बनाउन आफूले सगरमाथा सिमेन्ट प्रयोग गरेर ढलान गर्दा ६ दिनसम्म पनि सेट नभएको बताए ।

‘पुस २१ गते गरेको नौवटा पिलर र भूइतलाको ढलाइ २६ गतेसम्म सेट भएन,’ उनले भने, ‘पिलरको ढलान ह्वार्हुवार्ती खसेको र भूइतला पनि सेट भएको छैन ।

गलत सिमेन्ट लिएर आफू समस्यामा परँे । सगरमाथा सिमेन्ट त गुणस्तरहीन नै रहेछ नी ।’ बुढाले गुणस्तरहीन सगरमाथा सिमेन्टका कारण धेरै आर्थिक नोक्सानीसमेत व्यहोरेको बताउँदै उद्योगले क्षतिपूर्तिसमेत नदिएको बताए ।

यता उद्योगले सम्बन्धित घरधनीसँग सम्झौता भइसकेको जनाएको छ । दुई-चार ठाउँमा समस्या आएको स्वीकार गर्दै उद्योग संबद्ध स्रोतले ग्राहकको कुनै नोक्सानी नहुने र उनीहरुले क्षतिपूर्ति पाउने दाबी गरेको छ ।

यसअघि समेत पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा घोराही सिमेन्ट उद्योगबाट उत्पादित सगरमाथा ब्राण्डको सिमेन्ट गुणस्तरहीन भएको फेला परेको थियो ।

केही महिनायता गुणस्तरहीन सगरमाथा सिमेन्ट फेरि पनि बजारमा गइरहेको आशंका गरिएको छ । २०७५ सालमा बर्दियामा सगरमाथा ब्राण्डको ओपीसी सिमेन्ट गुणस्तरहीन रहेको पुष्टि भएपछि स्थानीय प्रशासनले बिक्रीवितरण बन्द गर्न निर्देशन दिएको थियो ।

गुणस्तर तथा नापतौल विभागले सगरमाथा सिमेन्टको उत्पादन गुणस्तरहीन भएको प्रमाणित गरेपछि जिल्ला प्रशासन कार्यालय बर्दियाले सिमेन्ट बिक्रीवितरण बन्द गर्न निर्देशन दिएको थियो ।

सो समयमा उद्योगलाई कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अन्तर्गत कारबाही गर्न प्रक्रिया अघि बढाइएको बताइएको छ । यस्तै गत कात्तिकमा कोहलपुरका व्यवसायी सुरज गिरीले आफ्नो उद्योग निर्माणमा प्रयोग गरेको प्युठान सिमेन्टसमेत लामो समयसम्म सेट भएको थिएन ।

शुभ श्री अग्नी प्रालिद्वारा उत्पादित प्युठान सिमेन्ट प्रयोग गर्दा आफूले लाखौं रुपैयाँ नोक्सानी व्यहोर्नु परेको भन्दै उनले विभिन्न निकायमा पुगेका थिए । पछिल्लो समय बजार अनुगमन कमजोर भएको फाइदा उठाउँदै विभिन्न सिमेन्ट उद्योगहरुले गुणस्तरहीन सिमेन्ट बजारमा पठाइरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ६ गते बिहीबार