19 June 2024  |   बिहिबार, असार ७, २०८१

सिडिओको आदेश लत्याउँदै बाँकेका एसपी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ५, २०७८  

नेपालगन्ज ।

सार्वजनिकस्थलमा सबै प्रकारका राजनीतिक तथा धेरैजना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवम् त्यही प्रकृतिको कार्यक्रम तथा मेला, भेला र महोत्सव आयोजना नगर्न बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) सूर्यबहादुर खत्रीले पुस २७ गते आदेश जारी गरेका छन् । उनको आदेशपत्रमा भनिएको छ, ‘२५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम आयोजना गर्न पाइँदैन ।’

तर सिडिओ खत्रीले गरेको उक्त आदेश जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले उल्लंघन गर्दै कार्यक्रम नै आयोजना गरे ।

एसपी अधिकारीले जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलन गरे । सूचना बाँकेस्थित अधिकांश पत्रकारलाई सूचना गएको थियो । तर कोभिड–१९ (कोरोना भाइरस) को जोखिमका कारण केही पत्रकारहरु उक्त कार्यक्रममा सहभागी भएनन् ।

मंगलबार प्रहरीले जिल्ला प्रहरी कार्यालय बाँकेको चालू आर्थिक वर्ष २०७८/०७९ को ६ महिनाको कार्य प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम थियो ।

यो कार्यक्रम महŒवपूर्ण नहुँदा पनि सिडिओ खत्रीको आदेश लत्याउँदै प्रहरीले कार्यक्रमको आयोजना गर्दा अनेकन प्रश्न उब्जिएका छन् ।

सरकार तथा सिडिओले दिएको आदेश कार्यान्वयन गराउने निकायनै यसरी लापरबाहीपूर्ण ढंगले काम गर्दा अरुमा नकारात्मक सन्देश जाने कतिपयको भनाइ छ । मंगलबार सार्वजनिक गरिएको कार्य प्रगति विवरण भर्चुअल माध्यबाट पनि सार्वजनिक गर्न सकिने केही पत्रकारहरुको भनाइ छ । उक्त कार्यक्रममा प्रहरीले सामाजिक दुरीसँगै अन्य स्वास्थ्य मापदण्ड पालनासमेत गरेको थिएन ।

उक्त कार्यक्रमपछि लागूऔषध नष्ट गर्नुपर्ने भएकाले पनि कार्यक्रम आयोजना गरिएको एसपी अधिकारीले बताए । ‘पत्रकारहरुको रोहबरमा लागूऔषध नष्ट नगर्दा प्रहरीलाई शंकाको दृष्टिले हेरिन्छ,’ उनले भने, ‘नष्ट भएको देखाउनलाई पनि कार्यक्रम गरेका हौं ।’ मान्छे जाने आउने भएकाले धेरै भीड नभएको भन्दै उनले भने, ‘स्वास्थ्य मापदण्डसमेत पालना गरिएको थियो ।’

प्रकाशित मितिः बुधबार, माघ ५, २०७८     7:52:40 PM  |