19 June 2024  |   बिहिबार, असार ७, २०८१

बाँकेमा सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरस्कार स्थापना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ५, २०७८  

नेपालगन्ज ।

नेपाल पत्रकार महासंघ बाँके शाखामा सूर्यनाथ गौतम (मुटु) पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । महासंघ बाँके शाखाको सहकार्यमा स्वर्गीय सूर्यनाथकी श्रीमती सुशीला गौतमले पत्रकारिता पुरस्कार स्थापना गरेकी हुन् ।

सोमबार महासंघमा एक कार्यक्रमकाबीच पुरस्कार स्थापनाका लागि सुशीलाले एक लाख रुपैयाँको कोष स्थापना गरेकी थिइन् । महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारी र दाता सुशीलाबीच पुरस्कार स्थापनाको लागि सम्झौतासमेत भएको थियो । सूर्यनाथ र सुशीला नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष निरज गौतमका बुवा र आमा हुन् ।

सो अवसरमा बोल्दै सुशीलाले श्रीमान्को मुटु रोगकै कारणले मृत्यु भएकोले आफूले श्रीमान्को स्मृतिमा कोष स्थापना गरेको बताइन् । पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीले प्राप्त अक्षय कोषको रकम मुद्दतीमा राखिने र यसबाट आउने ब्याजलाई पुरस्कारको रुपमा प्रदान गरिने जानकारी दिए ।

जिल्लाका क्रियाशील पत्रकारहरुका हकहित र उनीहरुलाई प्रोत्साहन प्रदान गर्न महासंघ सधैं कटिबद्ध रहेको बताउँदै उनले निकट भविष्यमा महासंघले पाँच लाखको अक्षय कोष स्थापना गरी ५० हजार रुपैयाँ बराबरको पत्रकारिता पुरस्कार प्रदान गरिने बताए ।

अक्षय कोषका संरक्षक सूर्यनाथका छोरा निरज गौतमले बिस्तारै पुरस्कार राशी बढाउँदै लैजानेमा आफू सकारात्मक रहेको बताएका थिए । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईले कोषको स्थापना हुनुले महासंघप्रतिको विश्वास बढाउने काम गरेको बताए ।

कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश सदस्य मोहम्मद आरिफ अन्सारी, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाय, नेपाल प्रेस युनियन बाँकेका उपाध्यक्ष समिरमान श्रेष्ठ, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य सिराज खान लगायतले कोष स्थापना गर्नु आफैमा उत्कृष्ठ कार्य भएको भन्दै पुरस्कार स्थापनासंगै वितरण कार्यलाई नियमित गरिनुपर्ने धारणा राखेका थिए ।

 

प्रकाशित मितिः बुधबार, माघ ५, २०७८     10:55:48 AM  |