बर्दियाको बाँसगढी नगरपालिकामा ‘किसान चोक’ अनावरण गरिएको छ । सोमबार एक औपचारिक समारोहका बीच किसानको पेसा झल्किने पूर्ण कदको तस्विरसहित किसान चोकको अनावरण गरिएको हो ।
उक्त चोकको बाँगसढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी र पूर्व कमैया तथा किसान शिवप्रसाद थारुले संयुक्तरुपमा अनावरण गरेका हुन् ।
नवनिर्मित ‘किसान चोक’ बासँगढी नगरपालिकाको चिनारीको रुपमा रहेको नगरप्रमुख अधिकारीले बताए । उनका अनुसार किसानको पहिचानको लागि हलो, जुवा बोकेको किसानसहित पूर्ण कदको चोक अनावरण गरिएको हो ।
यस्तै उनले नगरपालिकाका किसानलाई कृषिमा आत्मनिर्भर बनाउन स्थानीय सरकार सक्रियरुपमा लागिपरेको बताएका छन् ।
उनले किसानहरुका लागि पशु बीमा, कृषि बीमा गरिरहेको पनि बताएका छन् । ‘नगरभित्रका किसानलाई कृषि बीमा शतप्रतिशत निःशुल्क गरिहेको छ । यसमा सम्पूर्ण किसानलाई सहभागी हुन पनि आग्रह गर्दछुँ,’ उनले भने । किसान थारुले किसान चोक अनावरण गरिनु बाँसगढी मात्रै नभएर सिंगो देशका किसानहरुको सम्मान भएको बताएका छन् ।
अझै पनि किसानप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्ने उनको भनाइ छ । स्थानीय सरकार र किसानबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा उनले जोड दिएका छन् । चोक अनावरण कार्यक्रममा स्वागत मन्तव्य उपप्रमुख शुष्मा चौधरीले राखेकी थिइन् ।
कार्यक्रम सञ्चालन शेरबहादुर केसीले गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्