13 June 2024  |   शुक्रबार, असार १, २०८१

भेटिएन राप्तिपारिमा मान्छे खाने बाघः एक सातासम्म नभेटिएपछि नियन्त्रण कार्य स्थगित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ५, २०७८  

नियन्त्रणको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) चितवनबाट प्राविधिकको टोली आएको थियो । प्राविधिक टोलीसहित दुईवटा हात्तीका साथमा सेना, प्रहरी र वनका कर्मचारीको लावालस्कर जंगलमा एक सातासम्म बाघको खोजी गरेको थियो ।

पहिलो दिनमा बाघका पाइलाहरु फेला परे पनि अन्य दिनहरुमा भने कुनै क्लूसमेत फेला परेको थिएन । दैनिक ३० देखि ४० जनाको टोली बाघको खोजीको लागि खटिने गरेको सूचना अधिकारी खड्काले जानकारी दिए ।

बाघको खोजीमा जुटेको टोली। तस्बिर सौजन्य: गणेश खड्का, डिभिजन वन कार्यालय बाँके

कृष्ण ओली । कोहलपुर ।

बाँकेको राप्तीपारि क्षेत्रमा पाटेबाघ नियन्त्रणको लागि थालिएको अभियान स्थगित गरिएको छ । एकसाता खोज्दासमेत बाघ कतै फेला नपरेपछि सोमबार बेलुकीदेखि खोजी कार्य नै रोकिएको हो ।

राप्तीसोनारी गाउँपालिका–६ को फत्तेपुरबाट प्राविधिकसहितको टोलीले गत पुस २७ गतेदेखि उक्त बाघको खोजी सुरु गरेको
थियो । डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले बाघको खोजीको लागि खटिएको टोली फिर्ता भएको
बताए । ‘एक सातासम्म टोलीले फत्तेपुर क्षेत्रको जंगलमा बाघ खोज्ने काम ग¥यो कतै फेला परेन,’ उनले भने, ‘सोमबार खोजी कार्य स्थगित गरेर टोली फिर्ता भइसक्यो ।’

बाघको आहाराको लागि जंगलमा दुईवटा भैंसीका पाडोसमेत राखिएको थियो । पाडा खान आएको बाघलाई नियन्त्रणमा लिने योजना प्राविधिकसहितको टोलीले बनाएपछि बाघ खानै नआएपछि टोली रित्तो हात फर्किएको हो ।

दुवै पाडोसमेत जंगलबाट फिर्ता ल्याइएको सूचना अधिकारी खड्काले मिसन टुडेलाई जानकारी दिए । ‘एक सातासम्म धुइँपत्ताल खोज्दा पनि बाघ फेला पार्न सकिएन,’ उनले भने, ‘हामीले दुवै पाडो फिर्ता ल्यायौं ।’

बाघ खोजीमा प्रयोग गरिँदै आएका दुई हात्तीसमेत फिर्ता गरिएको छ ।’ बाघको आक्रमणबाट राप्तीसोनारी गाउँपालिका–४, पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको पुस २२ गते र वडा नम्बर ६ फत्तेपुरकी ३२ वर्षीया चाँदनी थारूको पुस २४ गते ज्यान गएको थियो । तीन दिनमा दुईजनाको बाघले ज्यान लिएपछि स्थानीयहरुले तत्काल हिंस्रक बाघलाई नियन्त्रणमा लिन माग गरेका थिए ।

नियन्त्रणको लागि राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) चितवनबाट प्राविधिकको टोली आएको थियो । प्राविधिक टोलीसहित दुईवटा हात्तीका साथमा सेना, प्रहरी र वनका कर्मचारीको लावालस्कर जंगलमा एक सातासम्म बाघको खोजी गरेको थियो । पहिलो दिनमा बाघका पाइलाहरु फेला परे पनि अन्य दिनहरुमा भने कुनै क्लूसमेत फेला परेको थिएन ।

दैनिक ३० देखि ४० जनाको टोली बाघको खोजीको लागि खटिने गरेको सूचना अधिकारी खड्काले जानकारी दिए । ‘गाडी जान सक्ने ठाउँमा गाडी दैनिक टोली परिचालन हुने गरेको थियो, गाडी जान नसक्ने ठाउँमा हात्ती प्रयोग गरियो,’ उनले भने, ‘सबै तरिका अपनाएर खोजी गर्दासमेत बाघ कतै देखिएन ।’

प्राविधिक टोलीले स्काइप क्यामराको समेत प्रयोग गरेको थियो । बाँकेको राप्तीसोनारी गाउँपालिका तथा नरैनापुर क्षेत्रमा चार महिनायता बाघले चारजनाको ज्यान लिइसकेको बाँके राष्ट्रिय निकुञ्जले जनाएको छ ।

बाँकेको नरैनापुरसँगै भारतको साहेलौवा राष्ट्रिय निकुञ्ज जोडिएको छ । बाँके र बर्दिया निकुञ्जमा बाघको संख्या उल्लेखनीय बृद्धि भएकाले राप्तीपारि क्षेत्रमा आतंक मच्चाएका बाघहरु बाँकेकै भएको आंकलन गरिन्छ ।

‘बाघ देखिए खोज्छौं’
प्रभाद दाहाल

सहायक वन अधिकृत

गाउँबस्ती क्षेत्रमा बाघ देखिए फेरि खोजी कार्य सुरु गर्न सकिने डिभिजन वन कार्यालय बाँकेले जनाएको छ । सहायक वन अधिकृत प्रभाद दाहालले बाघ गाउँ एरियामा देखिएपछि नियन्त्रणमा लिन सकिने बताए ।

‘अहिलेलाई खोजी कार्य स्थगित मात्रै भएको हो, भोलिका दिनमा कतै देखिए नियन्त्रणमा लिन सकिन्छ,’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘एक सातासम्म खोज्दासमेत बाघ फेला नपरेपछि नियन्त्रणमा लिने कार्य स्थगित गरिएको हो ।’

प्राविधिक टोली र हात्ती फिर्ता भए पनि वनको टोलीले अझै पनि बाघको निगरानी राखिरहेको उनले बताए । तत्कालै गाउँबस्तीमा नै बाघ आएर मान्छे तथा पशु चौपायामाथि आक्रमण गर्ने सम्भावना कम रहेको सहायक वन अधिकृत दाहालले जानकारी दिए ।

‘गाउँ बस्तीमै प्रवेश गरेर बाघले मान्छेमाथि आक्रमण गर्ने सम्भावना देखिँदैन,’ उनले भने, ‘जंगलमा घाँस दाउरा गर्न जाँदा स्थानीयहरुले ध्यान पु¥याउनुपर्ला । नत्र फेरि आक्रमण गर्ने जोखिम कायमै छ ।’

‘भित्री क्षेत्रमा गएको अनुमान छ’
रवीन कडरिया
प्रमुख, एनटिएनसी बर्दिया

राप्तीपारि क्षेत्रमा केही समय आतंक मच्चाइरहेका बाघ उत्तर वा दक्षिणको कोर एसियातर्फ गएको अनुमान गरिएको छ । एक सातासम्म समेत ठूलो टोलीले खोजी गर्दा कतै बाघ फेला नपरेकोले आफ्नो कोर एरियातर्फ लागेको अनुमान संरक्षणकर्मीहरुले गरेका हुन् ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दियाका प्रमुख रवीन कडरियाले बाघ आफ्नो बासस्थानतिर गएको हुनसक्ने बताउँछन् ।

‘कहिलेकाहिँ बाघ आफ्नो बासस्थानबाट बाहिर गएको हुनसक्छ,’ उनले मिसन टुडेसँग भने, ‘त्यहाँ पुगेका बाघ बाँके निकुञ्ज वा भारतबाट आएका भए उतै पनि जानसक्छन् ।

जंगलको चुरे क्षेत्रमा समेत गएको हुनसक्छन् ।’ एक सातासम्म खोज्दासमेत कतै बाघ फेला नपरेको र पछिल्ला दिनहरुमा मानिसहरुलाई समेत आक्रमण नगरेकोले टोली फिर्ता भएको उनले बताए ।

प्रकाशित मितिः बुधबार, माघ ५, २०७८     10:05:29 AM  |