भारतीय मूल्यको प्रभावः साना किसानलाई लगानी सुरक्षित गर्न चुनौती



कोहलपुर ।

जानकी गाउँपालिका–५, गुरुवा गाउँका २६ वर्षीय वकिल बागवानले दुई वर्ष कुखुरा व्यवसाय गरे ।

अस्वस्थ प्रतिस्पर्धा र बजार अभावमा उनको व्यवसाय फस्टाउन सकेन । अन्ततः उनले उक्त व्यवसायबाट घाटा खाँदै पेसा फेर्नु प¥यो । लगानीसमेत उठाउन नसकेर एक लाख रूपैयाँसम्म नोक्सानी व्यहोरेका उनलाई भारतबाट भित्रिने कुखुरा प्रमुख चुनौती बन्यो ।

‘हामीले यहाँ १५ दिनमा उत्पादन गर्छाैं । भारतबाट १२ दिनमै उत्पादन गरेर बजारमा ल्याउँछन्,’ उनले भने, ‘हामीले धेरै दिनपछि बजारमा लिँदा लगानी धेरै हुन्छ र भारतीय मूल्य बराबरमा बिक्री गर्नुपर्छ ।’

‘जसले लगानी र आफ्नो परिश्रमको मूल्य उठाउन सकिँदैन,’ उनी भन्छन् । साना लगानीकर्ता किसानलाई लगानी सुरक्षित गर्न समस्या भएको उनी प्रतिनिधिपात्र मात्र हुन् । बाँकेका कयौं साना लगानीका किसान अस्वस्थ प्रतिस्पर्धाका कारण मारमा परेका छन् ।

जानकी गाउँपालिका–४, शिव नगरका रमेशकुमार बर्मालाई पनि उही बजारको समस्याले थलाएको छ । उनले बर्सेनि करिब दुई सय क्विन्टल धान उत्पादन गर्छन् तर सरकारले कुपनमार्फत लगभग २० क्विन्टल मात्र धान खरिद गर्छ ।

अरु सबै धान अस्वस्थ प्रतिस्पर्धा गरेर बजारमा बिक्री गर्नुपर्ने बाध्यता उनीसहित अन्य धान उत्पादक किसानको छ । उत्पादन भएको सबै धान सरकारले खरिद नगर्दा सरकारी दरभन्दा कम मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता भएको किसानहरु बताउँछन् । कुपन व्यवस्था नभइ उत्पादन भएको सबै धान सरकारले खरिद गरे किसानको उचित लगानी उठ्ने उनीहरु बताउँछन् ।

समयमै मल नपाउनु, गुणस्तरीय बीउ नपाउनु, सिँचाइ सुविधा नहुनु, बजारको सुनिश्चितता नहुनुलगायतका समस्याले किसान समस्यामा परेको किसान बर्माको भनाइ छ । ‘धानमा रोगको प्रकोप देखिए समयमै प्राविधिक आउँदैनन्,’ उनी भन्छन्, ‘जसले गर्दा समयमै प्रकोप रोकथाम नहुँदा अन्य धानमा पनि संक्रमण हुन्छ ।’ यही समस्या तरकारी किसानमा पनि छ । बेलाबेला तरकारीमा देखिने रोग समयमै उपचार नहुँदा तरकारी व्यवसायी मारमा पर्ने गरेका छन् ।

सीता चौधरीको तरकारी बारीमा अहिले टमाटर, खुर्सानी, भिन्डी, लौका, फर्सी लटरम्म छन् । तरकारी उत्पादन राम्रो भए पनि कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण बजार जान सकेन । ‘ठूलो समस्या भनेको भारतबाट भित्रिने तरकारीकै हो,’ अन्य किसान जस्तै समस्या झेल्दै आएकी उनले भनिन्, ‘यहाँसम्म तरकारी लिन व्यापारी आउँदैनन् । बरु भारतबाट ल्याउँछन् ।’

रामप्रसाद चौधरीको बारीमा मकै बजार जाने भइसके तर अहिलेसम्म मकै बजार पुग्न सकेको छैन । यस वर्ष कोरोना भाइरसका कारण समस्या भए पनि यसभन्दा पहिला बजारकै समस्या थियो ।

नेपालगन्ज पश्चिम नेपालको ठूलो सहर भए पनि भारतीय उत्पादनले यहाँको उत्पादनमा प्रभाव पारेको उनको भनाइ छ । सरकारले दिने अनुदानले केही किसानलाई राहत पु¥याए पनि अधिकांश साना लगानीका किसानलाई लगानी सुरक्षित गर्न चुनौती छ ।

सरकारले अनुदान पनि पहुँचको आधारमा दिँदा वास्तविक किसानलाई आफ्नो लगानी सुरक्षित गर्न जटिलता थपिएको छ ।

जसको उदाहरण बनेका बागवान हुन् । उनले घाटा व्यहोरेको लगानी सरकारले सुरक्षित गरेको भए किसान पेसा छाडेर मजदुरी गर्नुपर्ने बाध्यता आउने थिएन । बाँके कृषि क्षेत्रमा लम्किँदै जाँदा साना किसानको लगानी सुरक्षित गर्न नसके कृषि पेसामा ठूलो असर पर्ने गणेशकुमार बर्माले बताए । अस्वस्थ प्रतिस्पर्धा हुँदा उनलाई पनि लगानी सुरक्षित गर्न सकस परेको छ ।

भारतबाट आउने तरकारीलगायत कृषिजन्य सामग्री सस्तो हुने र स्थानीय उत्पादन केही महँगो हुँदा बजारसँग प्रतिस्पर्धा हुन समस्या आइरहेको उनको भनाइ छ । भारतीय मूल्यमा बिक्री गर्दा घाटा हुने र यहाँको मूल्यमा बिक्री गर्दा बजार नपाउने समस्या भएको साना लगानीका किसानहरु बताउँछन् ।

प्रतिस्पर्धामा समस्या हुँदा अपेक्षाकृत आम्दानी गर्न सकेका छैनन् । विनिता राठले तीन वर्ष अघिदेखि पाँचवटा बाख्रा पालन सुरु गरिन् । तर बजारमा अस्वस्त प्रतिस्पर्धा हुँदा र सरकारी अनुदान नपाउँदा उनको व्यवसाय फस्टाउन सकेको छैन । तीन वर्षमा जम्मा सातवटा बाख्रा पुगेका छन् । यही व्यवसायमा उनले घर खर्च जोह गर्न समस्या छ ।

लगानी अभावमा व्यवसाय नफस्टाउँदा यही व्यवसाय गर्ने की अन्य काम गर्ने भन्ने विषयमा उनी अन्योलमा छिन् । ‘यस्तै भयो भने यही पेसा गर्न सकिन्न,’ उनले भनिन्, ‘योभन्दा मजदुरी गर्दा धेरै पैसा हुन्छ ।’

लगानी सुरक्षिताको ग्यारेन्टी नहुँदा पनि उनले यसमा लगानी बढाउन सकेकी छैनिन् । कोरोना भाइरस संक्रमणको महामारीमा किसानले बजार नपाउँदा झनै ठूलो समस्या प¥यो । आफूले उत्पादन गरेका कृषिजन्य उत्पादन बिक्री नहुँदा लगानी खेर गएको किसानहरु बताउँछन् ।

अस्वस्थ प्रतिस्पर्धा, भारतीय तरकारीको बिगबिगीलगायत कोरोना भाइरसका कारण पनि साना लगानीका किसानलाई लगानी सुरक्षित गर्न चुनौती थपिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ४ गते मंगलबार