13 June 2024  |   शुक्रबार, असार १, २०८१

जमुनाह सीमामा राजतन्त्र झल्काउने श्रीपेच र राजदण्ड

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, माघ ५, २०७८  

नेपालगन्ज ।

नेपालगन्जको मुख्य चोक धम्बोझीमा राखिएको राजा वीरेन्द्रको शालिक जिल्ला प्रशासनले झिकेर केही वर्षअघि राष्ट्रिय झण्डा राख्यो । शालिक राख्ने र हटाउने भन्ने विषयमा प्रहरी र केही युवाहरूबीच झडपसमेत भएको थियो ।

यसभन्दा पहिला गणतन्त्रवादीहरूले उक्त शालिकमाथि तोडमोड गरेका थिए । यति मात्र होइन राजाका नामबाट नामाकरण गरिएका चोक र केही सडकको पुनः नामाकरण गरियो । अन्य क्षेत्रमा रहेका शालिक भत्काइयो भने श्रीपेच र राजदण्ड अंकित चिन्हहरू मेटाइयो । तर सरकारले नेपाल–भारत सीमा जस्तो महŒवपूर्ण स्थानमा भने श्रीपेच र राजदण्ड हटाउने विषयमा चुकेको छ ।

राजतन्त्र ढलेको यति लामो सयम हुँदासम्म सरकारको ध्यान नजाँदा सीमा क्षेत्रका गेटहरूमा राजतन्त्र झल्काउने श्रीपेच र राजदण्ड अंकित चिन्ह कायमै छन् । जसले बाहिरी देशबाट आउनेलाई नकारात्मक सन्देश प्रवाह गरिरहेको छ । बाँकेको नेपालगन्जस्थित नेपाल–भारत सीमा क्षेत्र जमुनाहको मूल गेटमा श्रीपेच र राजदण्ड अंकित चिन्ह छ ।

उक्त गेट राजा महेन्द्रले निर्माण गरेका थिए । ‘जुन राष्ट्रको पृष्ठभूमि छ विश्वभरिको उच्च हिमाल, त्यस देशको गौरव राखौं हाम्रै हो यो देश नेपाल । महेन्द्र वीर विक्रम शाह’ लेखिएको सन्देश पनि उक्त गेटमा दुरुस्तै देखिन्छ ।

सन्देश महŒवपूर्ण भए पनि राजाको नाम उल्लेख हुँदा लोकतान्त्रिक गणतन्त्रमा नसुहाउने रामबहादुर चौधरी बताउँछन् । ‘पहिलादेखि नै श्रीपेच र राजदण्ड अंकित चिन्ह सीमाको गेटमा छ,’ उनले भने, ‘राजा हुँदा त राम्रै हो । अहिले भने अस्वभनिय छ ।’ सामान किनमेलका लागि आएका उनी भन्छन्, ‘सरकारले यसमा चासो देखाउनु पर्छ ।’

सीमा प्रवेशद्वारमै राजा झल्काउने चिन्ह हुँदा राम्रो नहुने उनको भनाइ छ । उक्त चिन्ह हटाएर सबै जातजाति, भाषा, संस्कृति झल्किनेखालाका चिन्हहरू निर्माण गर्नुपर्ने उनको भनाइ छ ।

नेपाल प्रवेश गर्ने मूल प्रवेशद्वारमै राजतन्त्रको झल्को दिने श्रीपेच र राजदण्डले गलत सन्देश दिने स्थानीय बताउँछन् । ‘श्रीपेच र राजदण्ड गेट निर्माण गर्दा नै बनाइएको हो,’ किनमेलका लागि भारतीय बजार रुपैडिहाबाट फर्किंदै गरेकी सीता रिजालले भनिन्, ‘अहिले आएर पनि उस्तै छ ।’ एक सीमा सुरक्षाकर्मीले कतिपय भारतीयले आफूलाई श्रीपेच र राजदण्डका विषयमा सोध्ने गरेको बताए ।

‘नेपालमा राजा हटेका होइनन् र ? अझै श्रीपेच र राजदण्ड छ त भन्दै प्रश्न गर्छन,’ उनले भने । राजा हटे पनि यो पुरानै गेट भएकाले श्रीपेच र राजदण्ड भएको आफूले उनीहरुलाई जानकारी गराउने गरेको उनको भनाइ छ । कतिपयले भने गेटमा अंकित श्रीपेच र राजदण्डको वास्त नगर्ने गरेको उनी बताउँछन् ।

श्रीपेच राजतन्त्रकालमा नेपालको राजाले प्रयोग गर्ने पारम्परिक पहिरन थियो । नेपाल एकीकरणपश्चात् राजतन्त्रको उदय भएसँगै राजाहरूले यसको प्रयोग गर्ने गरेका थिए भने राणा शासन कालमा श्री ३ प्रधानमन्त्रीहरूले समेत विशेष किसिमको श्रीपेच पहिरिने गरेका थिए । श्रीपेचको पछिल्तिर झुन्डिने आकर्षक कल्कीचाहिँ बर्ड अफ प्याराडाइज नामक चराको पुच्छर हो ।

श्रीपेचको अभिन्न भागका रूपमा रहेको बर्ड अफ प्याराडाइज दुर्लभ र मार्न प्रतिबन्धित संरक्षित चरा भएकाले पनि श्रीपेचको महŒव विशेष रहेको बताइन्छ ।

 

प्रकाशित मितिः बुधबार, माघ ५, २०७८     9:08:40 AM  |