चिसो बढेसँगै आजदेखि कोहलपुरका चोकचोकमा आगो बालिँदै



कोहलपुर ।

चिसो बढेसँगै कोहलपुर नगरपालिकाले चोकहरुमा आजबाट निःशुल्क रुपमा दाउरा वितरणको तयारी थालेको छ । तीन दिनयता बढेको चिसोका कारण जनजीवन प्रभावित भएसँगै चोकचोकमा दाउरा बाल्ने व्यवस्था मिलाउन थालिएको हो ।

कोहलपुर नगरपालिकाका वातावरण तथा विपद् व्यस्थापन इकाई प्रमुख पुरुषोतम पोख्रेलले दाउरा खरिद भइसकेको जानकारी दिए । ‘पहिलो चरणमा चार चट्टा दाउरा खरिद गरिसकेका छौं,’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘पहिले दाउरा खरिद गर्नेबेला घाम लागेको थियो ।

अहिले भने चिसो बढिसकेको छ । अब दाउरा वितरण गर्नुपर्छ ।’ कोहलपुर नगरपालिकाले खरिद गरेका दाउरा राप्तीसोनारी गाउँपालिकाको शम्शेरगन्जमा छन् । त्यहाँबाट आज दाउरा ल्याएर नगरपालिकाले दाउरा वितरण गर्ने तयारी थालेको हो ।

इकाई प्रमुख पोख्रेलका अनुसार आज (सोमबार) कोहलपुरका चोक तथा सेवाग्राहीहरुको धेरै भीडभाड हुने स्थानहरुमा दाउरा वितरण गरिनेछ । ‘नगरका केही चोक तथा सेवाग्राहीको धेरै भीड हुने स्थानमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।

पुसको पहिलो साता बसेको कोहलपुर नगरस्तरीय विपद व्यस्थापन समितिको बैठकले नगरका चोक तथा सेवाग्राहीको भीड हुने क्षेत्रमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

सोही निर्णयको आधारमा आजदेखि निःशुल्करुपमा नगरका चोकचोकमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाइने छ । पहिलो चरणमा करिब ९८ हजार रुपैयाँमा दाउरा खरिद गरिएको कोहलपुर नगरपालिकाको वातावरण तथा विपद व्यस्थापन इकाईले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ ३ गते सोमबार