बर्दियामा लागुऔषध ब्राउनसुगरसहित चारजना पक्राउ



बर्दिया ।

बर्दिया प्रहरीले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेको अवस्थामा प्रहरीले साढे १२ ग्राम ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको हो ।

बढैयाताल गाउँपालिका–२ बाट प्रहरीले एक ग्राम चार सय मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–२ का ३३ वर्षीय दिवश भण्डारी र वडा नम्बर–५ का २१ वर्षीय बिशाल परियार रहेका छन् ।

बढैयाताल गाउँपालिका–७ बाट समेत प्रहरीले ७ ग्राम ४४० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा दैलेख गुँरास गाउँपालिका–३ का ३० वर्षीय तुलाराम शर्मा रहेका छन् ।

यस्तै बढैयाताल गाउँपालिका– ८ बाट ३ ग्राम ४६० मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ पर्नेमा बर्दिया गुलरिया नगरपालिका– ४ बस्ने २० वर्षीय बिपन सुनार रहेका छन् ।

पक्राउ परेका चारै जनालाई हिरासतमा लिएर थप अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमहादुर शाहीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २ गते आइतबार