19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

स्वास्थ्य पहिलो प्राथमिकताः मन्त्री थारु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, माघ २, २०७८  

दाङ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याणमन्त्री इन्द्रजित थारुले नागरिकको स्वास्थ्य अधिकारलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रका स्थानीयहरुसँग भेटघाट एवम् छलफल गर्दै मन्त्री थारुले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मन्त्री थारुले पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्रको सुधार रहेको र सोहीअनुसार काम गरिरहेको समेत उनले जनाए । उनले स्वास्थ्य क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले पनि पर्याप्त बजेट विनियोजन गरेको र संघीय सरकारबाट पनि थप बजेट अल्याउन समन्वय र सहकार्य भइरहेको समेत जानकारी दिए ।

मन्त्री थारुले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गत गढवा र राजपुर गाउँपालिकामा पर्ने भारतसँग जोडिएका दाङको सीमावर्ती क्षेत्रको स्वास्थ्य अवस्था तथा समस्याकाबारे छलफलमा स्थानीय नाकावासीहरुसँग जानकारी र्लिका थिए ।

शुक्रबार स्थानीयसँग भेटघाट तथा छलफलमा राजपुर गाउँपालिका–७, भैँसाहिनाका निवासी पूर्णबहादुर रोकाले आधारभुत स्वास्थ्य ईकाइ केन्द्र भैँसाहिनाकामा खानेपानी, सौचालय, भवन, आवश्यक औषधि र दक्ष जनशक्तिको समेत समस्या रहेकोले तिनै तहका सरकारले यस विषयमा गम्भीरतापूर्वक ध्यान दिनु पर्ने बताए ।

यता राजपुर गाउँपालिका (माओवादी केन्द्र) अध्यक्ष चक्रबहादुर खड्काले भारतसँग जोडिएका अधिकांश सीमावर्ती क्षेत्रमा स्वास्थ्य क्षेत्रको समस्याबारे मन्त्री थारुलाई ध्यानाकर्षण गराए । ‘पालिकामा रहेका धेरै स्वास्थ्य चौकीहरुमा आवश्यक स्वास्थ्य सामग्री, औषधि, स्वास्थ्यको भवन, दक्ष जनशक्ति, सौचालयको समस्या छ,’ उनले भने, ‘यस्तो समस्या समाधान गरिदिनु प¥यो ।’

प्रकाशित मितिः आइतवार, माघ २, २०७८     11:32:03 AM  |