आज भूकम्प सुरक्षा दिवस: मापदण्ड कार्यान्वयनमा सकस



कोहलपुर ।

आज माघ २ (जनवरी २४) गते । देशभर विभिन्न कार्यक्रम गरी २४ औं भूकम्प सुरक्षा दिवस मनाइदैंछ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस विक्रम सम्बत् १९९० सालको महाभूकम्पको सम्झना गर्दै हरेक वर्ष माघ २ गते यो दिवस मनाउने गरिन्छ । महाभूकम्पको संस्मरणमा २०५५ सालदेखि माघ २ गतेलाई वार्षिक रूपमा राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन सुरु गरिएको हो ।

यसपटकको दिवसको नारा ‘भूकम्पीय सुरक्षा, सुरक्षित संरचना’ भन्ने तय गरिएको छ । नेपाल अति भूकम्पीय जोखिम भएका मूलुकहरुमध्ये ११ औँ स्थानमा पर्छ । साथै नेपाल विश्वमा २०औं विपद् संकटासन्न राष्ट्र भित्र पर्दछ । नेपालमा पहिलो अभिलेखबद्ध भूकम्प विक्रम सम्वत् १३२२ को हो । जसले काठमाडौँ उपत्यकाका एक तिहाई जनसंख्याको ज्यान लिएको थियो ।

त्यस भूकम्पमा राजा अभय मल्लले समेत ज्यान गुमाएका थिए । विक्रम सम्वत् १९९० सालको महाभूकम्प (८.४ म्याग्निच्युड ) मा नेपालका आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो । विसं. २०७२ वैशाख १२ गते गएको ७ दशमलव ६ रेक्टर स्केलको विनाशकारी भूकम्प र त्यसपछिका सयौं परकम्पमा परी आठ हजार सात सयभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

२३ हजार पाँच सयभन्दा बढी मानिस घाइते भएका थिए । सो बेलाको भूकम्पका कारण आठ लाख ५० हजारभन्दा बढी घर ध्वस्त वा क्षतीग्रस्त भएको बताइएको छ । २०७२ को भूकम्पमा समग्रमा ३१ जिल्लाका ८० लाखभन्दा बढी व्यक्ति प्रभावित भएका थिए । त्यतिबेला बाँकेमा समेत भूकम्पले क्षती पु¥याएको थियो । बाँके पनि उच्च भूकम्पीय जोखिम जिल्ला भित्र पर्दछ ।

बाँकेसँगै सुर्खेत, दाङ र बर्दिया पनि भूकम्पको बढी जोखिममा छन् । वैशाख १२ को भूकम्पमा सामान्य क्षती भएपनि बाँकेका अधिकांश घर भवनहरु २९ गते आएको भूकम्पको झट्काले चर्काएको थियो । त्यतिबेला नेपालगन्ज र कोहलपुर क्षेत्रका ७५ प्रतिशत घर, भवन, भौतिक संरचनाहरु भूकम्पको उच्च जोखिममा रहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय बाँकेले जनाएको छ । नेपालगन्जको सदरलाइन, त्रिभुवन चोक, एकलैनी उच्च जोखिममा छन् ।

पछिल्लो समय शहरी विकाससँगै नेपालगन्ज, कोहलपुर, खजुरा लगायतका क्षेत्रमा लाखौंको लगानीमा सरकारी तथा निजी संरचना निर्माण हुने क्रम बढेको छ तर अपेक्षित रुपमा भूकम्पीय प्रतिरोधी भने बनेका छैनन् । त्यतिबेला भूकम्पको क्षतीबारे अध्ययन गर्न समिति नै बनेको थियो । करिब एक हजार जतिले क्षती पु¥याएको भन्दै जिल्ला दैवी प्रकोप उद्धार समिति बाँकेमा निवेदन दिएका थिए । एनसेट नामक एक दातृ संस्थाले जिल्लाका नेपालगन्ज र बैजनाथ गाउँपालिकामा विपद् व्यवस्थापनका विषयमा काम गरेको थियो ।

एनसेट नेपालका कार्यक्रम संयोजक रविन्द्र बोहोराका अनुसार भुकुम्पीय जोखिम विरुद्ध प्राविधिक शिप, सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । कार्यक्रम सुरु भएपछि भवन निर्माण आचारसंहिता अनुसार भवन निर्माण गर्ने कामको सुरुवात भएको उनले दाबी गरे । ‘हामीले बाँकेमा विभिन्न समयमा काम गरेका छौँ ।

पहिला आचारसंहिताको न्युनतम सर्त समेत पालना गरेको अवस्था थिएन ।’, उनले भने,‘ अहिले भने सहरीकरण बढ्दो अवस्थामा रहेको छ । भूकम्प प्रतिरोधी भौतिक संरचना समेत निर्माण भइरहेका छन् ।’

लुकिछिपी घर बनाउँदा चूनौती
लुटबहादुर रावत
मेयर, कोहलपुर नगरपालिका

बाँके जिल्ला भूकम्प जोखिम रहेको जिल्ला हो । यहाँका धेरै बस्तीहरु भूकम्पको जोखिममा रहेका छन् । यस्तै कोहलपुर नगरपालिकामा समेत जोखिम देखिन्छ ।

यो विकासउन्मुख सहर हो । तीन प्रदेशको ट्रान्जिट भएकोले वर्षेनी जनसंख्या बढ्दो छ । यस्तै भौतिक संरचना निर्माण गर्ने क्रम पनि बढेको छ । कोहलपुर नगरपालिकाभित्र भवन निर्माण गर्दा अनिवार्य नक्सापास गर्नुपर्छ ।

हामीले भवन निर्माणपूर्व नक्सापास अनिवार्य गरेका छौँ । यस्तै भवन निर्माण आचारसंहिता समेत लागू गर्नुपर्छ । जुन कुरा स्थानीय सरकारले पनि लागू गरिरहेको छ ।

नगरपालिका अन्तर्गतका हरेक कार्यालय सबै प्रक्रिया पुरा गरेर निर्माण भइरहेको छ । धेरैले नक्सापास गरेरै घर निर्माण गरिरहनु भएको छ ।

अर्कातिर अहिले पनि भवन निर्माण आचारसंहिता अनुसार भवन निर्माण गर्ने बानी परेको छैन, यहाँका मानिसहरुलाई । उहाँहरु स्थानीय सरकारको आँखा छलेर लुकिछिपी घर बनाउने गरेको देखिएको छ ।

हामीले बारम्बार अनिवार्य नक्सा पास गर्न अनुरोध गर्दै आएका छौँ । तर उहाँहरुले अवज्ञा गर्दै आउनु भएको छ । यसले कुनैपनि भेला भूकम्प आयो भने क्षती हुने चूनौती थपिरहेको छ । हामी नियन्त्रण र सचेतनाको पक्षमा छौँ ।

चेतनाको अभाव देखिन्छ
धर्मेन्द्र आचार्य
इन्जिनियर, बैजनाथ गाउँपालिका

नेपाल भूकम्पका दृष्टिले जोखिमयुक्त देश हो । नेपालमा बेला बेलामा ठूलो भूकम्प गइरहेको छ । त्यसले मानवीय र भौतिक क्षती गरेको हामीले देखेका छौँ ।

यस भौतिक क्षती हुनुको कारण भूकम्प प्रतिरोधी संरचना निर्माण नहुनु र चेतनाको अभाव हो । नेपालमा क्षेत्रगत रुपमा हेर्ने हो भने पूर्वमा भवन निर्माण आचारसंहिता तथा भूकम्प प्रतिनिधि घर बनाउने देखिन्छ ।

पूर्वको तुलनामा पश्चिममा यसबारे सचेतनाको अवस्था कम देखिन्छ । यद्यपी पछिल्लो समय नक्सापासदेखि प्रतिरोधी भवन निर्माण गर्ने क्रम बढेको छ ।

बैजनाथको हकमा पनि पहिलेको भन्दा अहिले बढेको देखिन्छ । बैजनाथ अधिकांश क्षेत्र गाउँ रहेको छ । सहरीकरण बढिसकेको छैन । तर हामीले घर बनाउनुपूर्व नक्सापास अनिवार्य बनाएका छौँ ।

यस्तै विभिन्न संघ संस्थाको समन्वयमा गाउँपालिकाले तालिम प्रदान समेत गरिरहेको छ । घर हाम्रो लागि महत्वपूर्ण हो । त्यसैले कुनैपनि व्यक्तिले घर बनाउनुपूर्व भूकम्प प्रतिरोधी र भवन निर्माण आचारसंहित अनिवार्य पालना गर्नुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ माघ २ गते आइतबार