नेपालगन्जमा धरापी नालाः मेयर धवल भन्छन्, मलाई त थाहा नै छैन



नेपालगन्जको मुख्य सडकमाथिकै नालाको अवस्था यस्तो हुँदा पनि सरोकारवाला निकाय मौन छन् । यसको संरक्षण गर्नुपर्ने स्थानीय सरकार र सडक डिभिजन कार्यालय यसको मर्मत सम्भारमा चासो देखाएका छैनन् ।

नालामाथि स्थानीय व्यापारीले क्षमताभन्दा बढी सामान राख्नु, नालामाथि नै सवारी साधन चलाउनु, ठूला क्षमताका ट्रकबाट सामान ओराल्दा जथाभावी लोड खसाल्नु, नालामाथिको ढक्कनको मर्मतसम्भार नहुँदा पनि ढक्कनहरु जीर्ण हुँदै गएका छन् ।

नेपालगन्ज ।

प्युठान घर भइ हाल नेपालगन्ज बस्दै आएका हरिबहादुर खत्री बिहीबार साँझ कोठातिर जाँदै गर्दा धम्बोझी नजिकैको कृषि विकास बैंक अगाडिको नालामा खसे ।

झिसमिसे अँध्यारोमा उनले नालामाथिको भाग दुरुस्तै देखे, तर नालामाथिको ढक्कन जीर्ण थियो । ‘धराप’ जस्तो नालीमा उनी लडे र खुट्टामा सामान्य चोटपटक लाग्यो । सोही दिन धम्बोझी नजिकैको नालामा नेपालगन्जका अहमद जमिन पनि लडे । ‘म फुटपाथमा एकोहोरो हिँड्दै थिए,’ जमिनले भने, ‘धराप छ भन्ने थाहा थिएन, सरासर हिँड्दा लडे ।’

नेपालगन्ज उपमहानगरपालिकामा नाला व्यवस्थित नहुँदा दैनिकजसो सामान्य घटना हुने गरेका छन् । धरापजस्ता नालामा सर्वसाधारण झुक्एिर लड्ने गरेका छन् । उपमहानगरपालिकाका सडक नाली (ड्रेन कभर) लाई व्यवस्थित नगरिँदा नाला धरापमा परिणत भएका हुन् । फोरलेन सडकको छेउछाउमा बनाइएको नालामाथिका ढक्कन केही उप्किएका छन् भने केही फुटेका छन् ।

जसले आवतजावत गर्न सर्वसाधारणलाई सास्ती भएको छ । ‘दैनिकजसो चार÷पाँचजना मान्छे लड्छन्,’ धम्बोझीका विशाल नाथले भने, ‘दैनिक चार÷पाँचजना मेरो पसल अगाडि नै लड्छन् ।’ दिउँसोभन्दा साँझको समयमा अझ बढी घटना हुने उनको भनाइ छ । ‘बालबालिका र बृद्धबृद्धाहरुलाई समस्या छ,’ उनले भने, ‘अपांगता भएका व्यक्तिलाई पनि सकस छ ।’

नेपालगन्जको मुख्य सडकमाथिकै नालाको अवस्था यस्तो हुँदा पनि सरोकारवाला निकाय मौन छन् । यसको संरक्षण गर्नुपर्ने स्थानीय सरकार र सडक डिभिजन कार्यालय यसको मर्मत सम्भारमा चासो देखाएका छैनन् । नालामाथि स्थानीय व्यापारीले क्षमताभन्दा बढी सामान राख्नु, नालामाथि नै सवारी साधन चलाउनु, ठूला क्षमताका ट्रकबाट सामान ओराल्दा जथाभावी लोड खसाल्नु, नालामाथिको ढक्कनको मर्मतसम्भार नहुँदा पनि ढक्कनहरु जीर्ण हुँदै गएका छन् ।

‘ट्रक सामान झार्दा नालीसम्मै पुग्छन्,’ नेपालगन्जका सन्तोष खत्रीले भने, ‘त्यतिधेरै क्षमताका ट्रक नालीसम्मै पुग्दा जीर्ण भए ।’ कतिपय मोटरसाइकल वासिङ सेन्टर (सफा गर्ने ठाउँ) व्यवसायीले पनि नालामाथिका ढक्कल निकाल्ने गरेको सर्वसाधारणहरुको गुनासो छ । पानी जम्ने हुँदा त्यस्ता व्यापारीले ढक्कन खोल्ने गरेको पाइएको छ । सडक डिभिजन कार्यालयले पनि लामो समयदेखि नाला मर्मतसम्भार हुन नसकेको बताएको छ ।

महानगरपालिकाका रुपमा विकसित हुँदै गएको नेपालगन्जका मुख्य सडकमै यस्तो हबिगत हुँदा यसले नकारात्मक सन्देश प्रवाह गरिरहेको छ । नेपालगन्जलाई पश्चिम नेपालकै व्यवस्थित सहस भनिन्छ तर पछिल्लो समय सामान्य विषयमा ध्यान नदिँदा सहर कुरुप हुँदै पनि गएको छ ।

मेयरलाई नै थाहा छैन

डा.धवलशम्शेर राणा
मेयर, नेपालगन्ज उपमहानगरपालिका

नेपालगन्ज उपमहानगरपालिकाको मुख्य सडकका नाला जीर्ण हुँदा पनि नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले अनविज्ञता प्रकट गरे । उनले मिसन टुडेसँग भने, ‘नेपालगन्ज–सुर्खेत रोडका नालाहरु जीर्ण भएजस्तो लाग्दैन । एकपटक नाली निरीक्षण गर्न लगाउँछु । यदी नाला जीर्ण नै भएका छन् भने मर्मत गर्छुं । मर्मत सम्भारमा रकम छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ माघ १ गते शनिबार