26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

स्वास्थ्यकर्मी आफैँ असुरक्षितः बाँकेका आठजना स्वास्थ्यकर्मी कोरोना संक्रमित

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस ३०, २०७८  

नेपालगन्ज ।

कोभिड–१९ (कोरोना भाइरस) को तेस्रो लहरको पहिलो चरणमा स्वास्थ्यकर्मीहरु असुरक्षित देखिएका छन् । तेस्रो लहर सुरु भएयता बाँकेका आठजना स्वास्थ्यकर्मी कोरोना भाइरस संक्रमित बनेका छन् । नेपाल–भारत सीमा क्षेत्र जमुनाहमा स्थापना गरिएको हेल्थ डेस्कका कार्यरत स्वास्थ्यकर्मीहरु कोरोना भाइरस संक्रमित भएका हुन् ।

भारतबाट नेपाल प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षण गर्न खटिएका स्वास्थ्यकर्मीहरुनै कोरोना भाइरस संक्रमित भए । हेल्थ डेस्क जमुनाहका अनुसार तीनजना ल्याब टेक्निसियन, एक नर्सिङ, एक कार्यालय सहयोगी, एक एचए र दुईजना अहेबमाथि कोरोना भाइरस संक्रमण देखिएको छ ।
सुरक्षित उपकरण पीपीइ लगाएर काम गर्ने गरे पनि स्वास्थ्यकर्मीहरु नै संक्रमित भएको हेल्थ डेस्क जमुनाहका ल्याब इन्चार्ज चिरिञ्जीवी ज्ञवालीले जनाए । ‘मान्छेको धेरै भीडभाड हुन्छ,’ उनले भने, ‘जति सुरक्षित भए पनि स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण देखियो ।’

साथै जनशक्ति अभाव हुँदा यहाँका कर्मचारीहरुले दिनभरि पीपीइ सेट लगाएर स्वास्थ्य परीक्षण गर्ने गरेका छन् । ल्याबका कर्मचारीहरुले पीपीइ लगाउने गरे पनि सोधपुछ गर्नेहरुले भने सुरक्षित उपकरण पीपीइ लगाउँदैनन् । जसल् पनि उनीहरु कोरोना भाइरसको उच्च जोखिममा छन् । ‘एउटा पीपीइ करिब दुई घण्टासम्म लगाउने हो,’ उनी भन्छन्, ‘तर हामी दिनभरि लगाए काम गर्छाैं ।’

पछिल्लो समय भारतबाट नेपाल आउनेको संख्याको दिन प्रतिदिन बढ्दै गएका छन् । सीमा क्षेत्रमा स्वास्थ्य परीक्षण गर्ने धेरै हुँदा सोहीअनुसारको जनशक्ति भए काम गर्न सहज हुने यहाँका कर्मचारीहरु बताउँछन् । सीमा क्षेत्रमा खटिएका आठजनामध्ये एकजना बिहीबार कोरोना पृष्टि भएको जिल्ला कोभिड–१९ फोकल फर्सन तेज ओलीले जानकारी दिए ।

हेल्थ डेस्क जमुनाहका ल्याब इन्चार्ज ज्ञवाली भन्छन्, ‘संक्रमितको उपचारमा खटिने सबैभन्दा बढी जोखिममा स्वास्थ्यकर्मी नै रहेका छन् । उनीहरु नै संक्रमित भए नियमित स्वास्थ्य सेवा लिन जाने व्यक्तिमा पनि संक्रमणको जोखिम बढ्छ । मुख्य कुरा संक्रमण कसरी जोगाउने भन्ने हो । स्वास्थ्यकर्मी नै कोरोना देखियो भने कसले उपचार गर्ने ?’ स्वास्थ्यकर्मी तथा बिरामी दुवैले जनस्वास्थ्यका मापदण्ड तथा व्यवहार कडारुपमा पालना गर्नुपर्ने उनले बताए ।

प्रकाशित मितिः शुक्रबार, पुस ३०, २०७८     10:40:35 AM  |