‘बाघ नियन्त्रणका लागि बाघ आउनसक्ने सम्भावित स्थानमा राखेका पाडोहरु खान आएको छैन,’ उनले भने, ‘त्यस क्षेत्रमा राखिएका क्यामेरामा समेत बाघ देखिएको छैन । पक्कै पनि बाघ पाडोहरु खान आउँला ।’
कहिलेकाहिँ आहारा खान बाघ ढिलोसमेत आउनसक्ने उनले बताए । ‘हाम्रो टोलीले आहारा राखिदिएको ठाउँ खोला हो, पानी खान खोलामा आएको पाइला भेट्टाएपछि त्यहीँ ठाउँमा आहारा राखिदिएका छन्, तर त्यहाँ अहिले बाघ आएको छैन,’ कडरियाले भने ।
बाँकेको राप्तीपारि क्षेत्रमा हिंसात्मक गतिविधि गरिरहेको पाटेबाघ बिहीबार रातिसम्म नियन्त्रणमा आउन सकेको छैन । तीन दिनमा दुई महिलाको ज्यान लिएको पाटेबाघ अझैसम्म पनि नियन्त्रणमा आउन नसकेको हो ।
तीन दिनदेखि प्राविधिकसहितको टोली परिचालन गरिए पनि फत्तेपुर क्षेत्रको जंगलमा बाघ फेला पर्न सकेको छैन । मंगलबारदेखि बाघ खोजीका लागि चितवनबाट आएको प्राविधिकसहित टोली परिचालन भएका छन् । तर बाघ भने फेला पर्न नसकेको डिभिजन वन कार्यालय बाँकेका प्रमुख दधिलाल कँडेलले जानकारी दिए ।
‘तीन दिनदेखि बाघ नियन्त्रणमा लिन टोली लागिरहेको छ,’ उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘टोली जंगलमा बाघ भेटाउन सकेको छैन ।’ बाँके राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीसहित मान्छे खाने बाघ नियन्त्रणको लागि भन्दै विशेष टोली नै खटिएको छ ।
विभिन्न प्रयास गर्दासमेत जंगलभित्र बाघलाई टोलीले फेला पार्न नसकेको वन कार्यालयका प्रमुख कँडेलले बताए । बाघको आहाराको लागि टोलीले जंगलका फरकफरक स्थानमा दुईबाट भैंसीका पाडोहरु समेत राखिदिएको छ ।
‘आहाराका लागि राखिएका पाडोहरु खान बाघ आएको छैन,’ उनले भने, ‘पाडो खान आएको बेला बाघलाई नियन्त्रणमा लिने भन्ने कुरो
हो । तर बाघ तीन दिनसम्म पाडो खान आएको छैन ।’
बाघ नियन्त्रण गर्नका लागि फत्तेपुरको महेमानपुरस्थित सवडिभिजन वन कार्यालयमा क्याम्प खडा गरिएको छ । त्यहीबाट बाघ नियन्त्रणको लागि टोली परिचालन हुने गरेको छ । बाघले गत शनिबार राप्तीसोनारी–६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीबार राप्तीसोनारी–४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टको ज्यान लिएको थियो ।
तीन दिनमा दुईजनाको बाघले ज्यान लिएपछि स्थानीयले तत्काल बाघलाई नियन्त्रणमा लिन दबाब भएका थिए । राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दियाको टोलीले नभ्याउने भएपछि चितवनबाट बाघ नियन्त्रणको लागि सोमबार साँझ बाँके प्राविधिक टोली आइपुगेको थियो ।
अहिले बाघ नियन्त्रणको लागि एनटिएनसी चितवनका प्राविधिक, डिभिजन वन कार्यालय बाँके, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय जनप्रतिनिधि, वन तथा वातावरण संरक्षण समन्वय समिति कम्दी, सामुदायिक समूह, प्रहरी, नेपाली सेनालगायत खटिएका छन् ।
बाघलाई नियन्त्रणमा लिनेबित्तिकै ‘वाइल्ड लाइफ एम्बुलेन्स’मा राखेर व्यवस्थापन गरिनेछ । त्यसका लागि उक्त एम्बुलेन्सलाई फत्तेपुरमा तयारी अवस्थामा राखिएको छ ।
‘खोजी कार्य रोकिँदैन’
डिभिजन वन कार्यालय बाँकेले मान्छे खाने बाघको खोजी कार्य जारी रहने बताएको छ । कार्यालयका सूचना अधिकारी गणेशबहादुर खड्काले तीन दिनदेखि नै बाघको खोजीको भइरहेको जानकारी दिए ।
‘प्राविधिक टोली आएपछि बाघ देखिएको छैन,’ उनले भने, ‘जंगलमा बाघका नयाँ पाइला देखिएका छन् । बाघ नियन्त्रणको लागि खटिएको प्राविधिक टोली लागिरहेको छ ।’
सूचना अधिकारी खड्काका अनुसार मान्छे खाएको बाघ सोमबारसम्म फत्तेपुर क्षेत्रको जंगलमा देखिएको थियो । ‘सोमबार अघिसम्म हाम्रो र नेपाली सेनाको टोली जंगलमा बाघको आमुन्नेआसुन्ने भएको थियो । बाघ धपाउन केही राउण्ड हवाइ फायरसमेत गर्नुप¥यो,’ उनले भने, ‘त्यसपछि भने जंगलमा बाघ नजिकैबाट देखिएको छैन ।’
बाघ फेला नपरे पनि नियन्त्रणमा लिनको लागि परिचालित भएको टोलीले फिल्डमा नै बसेर काम गरिरहेको उनले जानकारी दिए । फत्तेपुर क्षेत्रको जंगलमा रहेको बाघ अली बढी हिंस्रक देखिएकोले त्यसैलाई नियन्त्रणमा पहिला लिनको लागि प्रयास भइसकेको वन कार्यालयले जनाएको छ ।
बाघले आहारा खाएन
राप्तीपारि फत्तेपुरको जंगलमा बाघको आहाराका लागि राखिएका भैंसीका पाडोहरु बाघले तीन दिनसम्म खाएको छैन । मंगलबार र बुधबार राखिएका दुई पाडोहरु बाघले बिहीबार रातिसम्म नखाएको राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दियाका प्रमुख रवीन कडरियाले जानकारी दिए ।
‘बाघ नियन्त्रणका लागि बाघ आउनसक्ने सम्भावित स्थानमा राखेका पाडोहरु खान आएको छैन,’ उनले भने, ‘त्यस क्षेत्रमा राखिएका क्यामेरामा समेत बाघ देखिएको छैन । पक्कै पनि बाघ पाडोहरु खान आउँला ।’
कहिलेकाहिँ आहारा खानको लागि बाघ ढिलोसमेत आउनसक्ने उनले बताए । ‘हाम्रो टोलीले आहारा राखिदिएको ठाउँ खोला हो, पानी खान खोलामा आएको पाइला भेट्टाएपछि त्यहीँ ठाउँमा आहारा राखिदिएका छन्, तर त्यहाँ अहिले बाघ आएको छैन,’ कडरियाले भने ।
आहारा खान बाघ आउनेबित्तिकै त्यहाँ जडित स्वचालित क्यामेराले अटोमेटिक फोटो खिच्ने उनले बताए । उक्त क्यामेराले खिचेको फोटो कर्मचारीले आफ्नो मोबाइलमा तत्कालै हेर्न सक्छन् । बाघलाई आहारा राखिदिएको स्थान सदाबहार सामुदायिक वन क्षेत्र हो । उक्त स्थान मानव बस्तीबाट करिव ४-५ किलोमिटर पर्दछ ।
मान्छे खाने बाघ फरकफरक
राप्तीपारिस्थित बैजापुर, बिनौना र फत्तेपुरको जंगलभित्र मान्छे र पशु चौपायामाथि आक्रमण गर्ने बाघ फरकफरक रहेको अनुमान
गरिएको छ । स्थानीयको भनाइअनुसार मान्छे र पशुमाथि आक्रमण गर्ने फरकफरक हुनसक्ने अनुमान गरिएको डिभिजन वन कार्यालय बाँकेले
जनाएको छ ।
राप्तीसोनारी–४ मा बिहीबार दिउँसो महिलाको ज्यान लिन बाघ बच्चासहित रहेको स्थानीयहरुले जनाएका छन् । जंगलमा राखेका क्यामेरामा बाघ कैद भए थाहा पाउन सहज हुने बाघ नियन्त्रणमा लिन खटिएका प्राविधिकहरुले बताए । प्राविधिकहरुले राप्तीपारिका सामुदायिक वनमा एकभन्दा बढी पाटेबाघहरु रहेको अनुमान गरेका छन् । फत्तेपुर क्षेत्रमा केही दिन पहिले देखिएको बाघ धेरै हिंस्रक देखिएको वन कार्यालय बाँकेले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्