26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

प्रेम बचाउन पत्नीलाई भन्नै नहुने पाँच कुरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, पुस २९, २०७८  

पति–पत्नी भनेको अति नजिकको सम्बन्ध हो। आपसी विश्वास, सम्मान र एकअर्काको भावना साटासाट गरिने सम्बन्ध हो। तर यस्तो सम्बन्ध जोगाइराख्न कतिपय कुरा एकअर्कालाई नभन्नु नै राम्रो हुन्छ। किनकि त्यस्ता कुराले सम्बन्धमा आँच आउने जोखिम हुन्छ।

त्यसैले यहाँ पतिले पत्नीबाट गोप्य राख्नुपर्ने पाँच कुराबारे चर्चा गरिन्छ।

१. तुलना

हरेक पत्नीको चाहना हुन्छ– आफ्ना पतिले आफूलाई सबैभन्दा बढी माया गरून् र विशेष पात्र ठानून्। यसकारण ख्याल-ठट्टामै किन नहोस्, आफ्नी श्रीमतीलाई अन्य महिलासँग तुलना गर्न हुँदैन। यसले पत्नीको मनमा ठूलो चोट पुर्याउँछ।

२. परिवारका नकारात्मक कुरा

परिवारका सदस्यबीच हुने सानातिना खटपट र एकअर्काका नकारात्मक कुरा सुनाउने गर्नु हुँदैन। श्रीमतीसँग कहिले आफ्नै परिवारका सदस्यको कुरा काट्नु हुँदैन। बरु सबै मनमुटाव मिठासमा बदल्ने प्रयास गर्नुपर्छ।

३. चरित्र हत्या हुने कुरा

पत्नीसँग कसैको चरित्रबारे नकारात्मक टिप्पणी गर्नु राम्रो हुँदैन। कसैको चरित्र हत्या हुने कुरा पत्नीलाई सुनाएर उसप्रति गलत धारणा बनाउन प्रेरित गर्न हुँदैन।

४. पत्नीका आफन्तका कुरा

हरेक मानिस आफ्ना बाबुआमा वा आफन्तलाई निकै सम्मान र माया गर्छन्।

त्यसैले आफ्नी पत्नीको माइती वा आफन्तका नकारात्मक कुरा गर्नु हुँदैन। ससुरालीलाई पनि आफ्नै परिवार सम्झेर सम्मान गर्नुपर्छ। चित्तै नबुझ्ने कुरा छन् भने निकै सुझबुझका साथ श्रीमतीको मन नभाँचिनेगरी भन्ने। तर सकेसम्म यस्ता कुरा नभनेकै राम्रो।

५. अपमानजनक प्रसंग

आफू कहीँ कतै अपमानित भइएको छ भने यो कुरा पत्नीलाई नभन्नु नै उचित हुन्छ। किनकि महिलाहरू भावुक प्रकृतिका हुन्छन्। तसर्थ तपाईं अपमानमा परेको कुरा सुनाउनुभयो भने उनको मनमा पनि आघात पुग्न सक्छ। किन दुवै जना पीडित हुने?

प्रकाशित मितिः बिहिबार, पुस २९, २०७८     2:08:11 PM  |