२४औँ नेशनल प्याब्सन दिवसः कोहलपुर र बैजनाथमा उत्कृष्ट शिक्षकशिक्षिका सम्मानित



कोहलपुर ।

२४औँ नेशनल प्याब्सन दिवसको अवसरमा बाँकेस्थित कोहलपुर नगरपालिकामा सञ्चालित संस्थागत विद्यालयमा कार्यरत शिक्षकशिक्षिकाहरुलाई सम्मान गरिएको छ । नेशनल प्याब्सन कोहलपुर नगर समितिसँग आबद्ध विद्यालयका उत्कृष्ट शिक्षकशिक्षिकाहरुलाई सम्मान गरिएको हो ।

नेशनल प्याब्सन कोहलपुर नगर समितिका सचिव अमृतप्रसाद पौडेलका अनुसार १८ विद्यालयका ३८ जना शिक्षकशिक्षिकाहरुलाई प्रमाणपत्र र दोसल्लासहित सम्मान गरिएको छ । उनले १८ वटा विद्यालयले उत्कृष्ट छनोट गरेका शिक्षकशिक्षिकाहरुलाई स्थापना दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेर सम्मान गरिएको जनाए ।

दिवसको अवसरमा ३४ जनालाई भौतिक उपस्थितिमै सम्मान गरिएको थियो । अन्य चारजना शिक्षक र शिक्षिका भने अनुपस्थित रहेको र उनीहरुलाई विद्यालय मै प्रमाणपत्र दिइने उनको भनाइ छ ।

सम्मान कार्यक्रममा बोल्नै कोहलपुर नगर शिक्षा शाखाका प्रमुख रविलाल मिजारले सम्मानले शिक्षकशिक्षिकाहरुलाई प्रोत्साहन गर्ने बताए । उनका अनुसार दिवसको अवसरमा सम्मान गरिनु राम्रो सुरुवातसमेत हो । संस्थागत विद्यालयमा काम गर्ने शिक्षकशिक्षिकाहरुको हकहितका लागि नगर शिक्षा शाखा सधंै तयार रहेको उनले बताए ।

कोहलपुरलाई शिक्षा क्षेत्रको हब बनाउन आवश्यक रहेकोमा नगर शिक्षा शाखा प्रमुख मिजारले जोड दिए । यस्तै नेशनल प्याब्सनका केन्द्रीय सदस्य कुवेर बस्नेतले कोहलपुर क्षेत्रमा शिक्षा क्षेत्रको विकासका लागि संस्थागत विद्यालयहरुको भूमिका महŒवपूर्ण रहेको बताएका थिए ।

उनका अनुसार राज्यलाई आवश्यक दक्ष जनशक्ति उत्पादन संस्थागत विद्यालयको पहिचान हो । नेशनल प्याब्सनका लुम्बिनी प्रदेश सदस्य कमल पछाइले पनि राम्रो काम गर्नेहरुलाई सम्मान गर्ने कार्यक्रम नमुनायोग्य भएको बताएका थिए ।

नेशनल प्याब्सन कोहलपुर नगर समितिका अध्यक्ष बेगप्रकाश चन्दले निजी क्षेत्रमार्फत गुणस्तरीय शिक्षाको विकासका लागि महŒवपूर्ण भूमिका रहेको बताए । उनले बाँके तथा कोहलपुर क्षेत्रमा समेत संस्थागत विद्यालयको भूमिका अहम रहेको छ ।

यस्तै, नेशनल प्याब्सन बैजनाथ इकाइ कमिटीले पनि शिक्षक र विद्यालय कर्मचारीलाई सम्मान गरेको छ । २४औं नेशनल प्याब्सन दिवस २०७८ को अवसरमा नेशनल प्याब्सनमा आबद्ध रहेका विद्यालयमा कार्यरत उत्कृष्ट शिक्षक र विद्यालय कर्मचारीहरुलाई सम्मान गरिएको हो ।

बैजनाथ गाउँपालिकास्तरीय शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख विश्वराज ढकालको प्रमुख आथित्यतामा २२ जना शिक्षक र विद्यालयकर्मचारीहरुलाई सम्मान गरिएको जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २८ गते बुधबार