16 April 2024  |   मङ्लबार, बैशाख ४, २०८१

नेपालगन्जमा आलु व्यापारीको हत्या भएको पुष्टि

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८  

नेपालगन्ज ।

२३ गते शुक्रबार नेपालगन्ज–१८ लग्दहवास्थित आँप बगैँचाको दक्षिणतर्फ मृत भेटिएका जुम्लाका लोकप्रसाद न्यौपानेको हत्या भएको रहस्य खुलेको छ । पोस्टमार्टम रिपोर्टअनुसार घाँटीको कुरकुरे घड्डी नै फ्याक्चर भएको छ ।

प्रहरीका अनुसार घाँडीको कुरकुरे हड्डी फ्याक्चर हुनु भनेकै हत्या हुनु हो । जुम्लाबाट आलु र सिमी ल्याएर नेपालगन्जमा बिक्री गर्दै आएका न्यौपानेको शव शंकास्पद अवस्थामा भेटिँदा प्रहरीले हत्या भएको अनुमान गरेको थियो ।

मृतक न्यौपानेको मोबाइलसमेत अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जनाए । ‘मृतकको ७-८ मिटर नजिकै एउटा घडी पनि फेला परेको छ,’ उनले भने, ‘त्यो घडी मृतकले प्रयोग गरेको नभइ कोही दोस्रो व्यक्तिको हो ।’ घडी हेर्दा सामान्य व्यक्तिको भएको जस्तो भएको भन्दै उनले भने, ‘घडीवालाले नै हत्या गरेको सामान्य आँकलन गरिएको छ ।’

उनी घरबाट करिब ढेड महिनाअघि नेपालगन्ज आएका थिए । ‘हत्या हुनुभन्दा पहिला नेपालगन्जको एक भट्टी पसलमा बसेर मदिरा सेवन गरेको बुझिएको छ,’ प्रहरी निरीक्षक घर्तीले मिसन टुडेसँग भने, ‘मदिरा सेवन गरेर निस्केपछि उनको अवस्था अज्ञात बन्यो ।’

उनी नेपालगन्जस्थित एक होटेलमा बस्दै आएका थिए । ‘मृतक न्यौपाने कहिले होटेलमा कहिले आफन्त कहाँ बस्ने गरेको बुझिएको छ,’ उनी भन्छन्, ‘उनको बस्ने एकीन ठाउँ रहेनछ ।’ पोस्टमार्टम रिपोर्ट भने भेरी अस्पतालले प्रहरीलाई उपलब्ध गराएको छैन ।

स्रोतका अनुसार रिपोर्ट प्रहरीमा बुझाउन अझै एक-दुई दिन लाग्न सक्छ । ‘रिपोर्टमा हत्या भएको संकेत गरिएको छ,’ स्रोत भन्छ, ‘रिपोर्ट तयार भए पनि प्रहरीसम्म पुगेको छैन ।’ भेरी अस्पतालका निमित्त मेडिक सुपेरिटेण्डेण्ट राजन पाण्डे यसको जवाफ दिनबाट पञ्छिए । ‘यो इमरजेन्सी केस होइन,’ उनले भने, ‘रिपोर्ट बुझ्न जरुरी छैन । आफू एक दिनको मात्रै निमित्त भएकाले यस विषयमा आफूलाई थाहा नभएको उनको भनाइ छ ।

एकजना पक्राउ

उक्त घटनामा शंकास्पद मानिएका एकजनालाई पक्राउ गरी प्रहरीले सोधपुछ गरेको छ । उनीसँग बस्ने (नाम गोप्य राखिएको) एकजनालाई पक्राउ गरी दुई दिन हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

‘मृतकसँगै बस्ने र सँगै घुम्ने एकजनालाई पक्राउ गरेर दुई दिन हिरासतमा राखेका थियौं,’ प्रहरी निरीक्षक घर्ती भन्छन्, ‘दुई दिनपछि निगरानीमा छाडेका छौं ।’ यो विषयमा थप अनुसन्धान भइरहेको उनले जनाए ।

प्रकाशित मितिः मङ्लबार, पुस २७, २०७८     8:00:04 PM  |