नेपालगन्ज स्र्पोटिङ फाइनलमा



नेपालगन्ज ।

नेपालगन्ज स्र्पोटिङ क्लब बाँके जिल्लाव्यापी नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार नेपालगन्ज रंगशालामा भएको खेलमा नेपालगन्ज स्र्पोटिङ क्लबले सिद्धार्थ युथ स्पोर्टस क्लब कोहलपुरलाई २–० ले पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

नेपालगन्ज रंगशालामा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर वैकल्पिक खेलाडी विभुसन केसीको सहयोगमा विकास पुनले ६३औँ मिनेटमा गोल गर्दै नेपालगन्ज स्र्पोटिङ क्लबलाई अग्रता दिलाए ।

खेलको ७७औँ मिनेटमा विभुसनले नै अर्काे गोल थप्दा नेपालगन्जको अग्रतालाई दोब्बर बनाएका थिए । अब नेपालगन्जले मंगलबार रोयल नेपालगन्ज फुटबल क्लबसँग प्रतियोगिताको फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजनामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा बाँकेका पाँच क्लबले भाग लिएका छन् । प्रतियोगिता पुसको २७ गतेसम्म चल्ने बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २६ गते सोमबार