10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

‘अमेरिकाले नेपाललाई प्रान्त गराउन खोज्यो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २६, २०७८  

नेपालगन्ज ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बास्तोलाले एमसीसीमार्फत अमेरिकाले नेपाललाई आफ्नो प्रान्तको रुपमा कब्जा गर्न खोजेको बताएका छन् ।

बाँकेको नेपालगन्जमा आइतबार पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा एमसीसीकै कारण ठूलो खतरा पैदा भएको दाबी गरे ।

‘एमसीसी पास गर्न प्रतिपक्ष र सत्तापक्ष सहमत भइरहेको देखिएकोले देशमा ठूलो खतरा आउन लागेको छ,’ पार्टीका विदेश विभाग इन्चार्जसमेत रहेका बास्तोलाले भने, ‘एमसीसीले नेपालको स्वतन्त्रता र सार्वभौमसत्तालाई समाप्त पार्छ । जोगिन सबै नेपाली प्रतिकारमा उत्रिनुपर्छ ।’ यथास्थितिमा आफ्नो पार्टी कुनै पनि निर्वाचनमा सहभागी नहुने उनले बताए ।

‘अहिलेको अवस्थामा जनमत संग्रहको चुनाव गराऔं, त्यो भयो भने हामी भाग लिन्छौं, यही अवस्थामा ‘दलाल’ र ‘पुँजीवादी’ सँग हामी चुनावमा भाग लिदैनौं,’ उनले भने । अर्को प्रसंगमा उनले सरकारसँग भएको सहमति अझै कार्यान्वयनमा नआएको गुनासो गरे ।

‘तत्कालीन सरकारसँग भएको तीन बुँदे सहमतिमध्ये हाम्रो पार्टीमाथिको प्रतिबन्ध चाहिँ हटाइयो, तर अझै पनि मुद्दा फिर्ता गरिएको छैन, बन्दीहरुलाई रिहाई गरिएको छैन,’ नेता बास्तोलाले भने ।

पार्टीका एक सय ५० जना जति बन्दीहरु थुनामा रहेकोमध्ये ८० देखि ९५ जना अझै पनि जेलमा रहेको उनले बताए । ‘५०÷६० जना जति छुट्नु भयो, त्यसमध्ये सहमतिबाट कोही छुट्नु भएको छैन, म बाहेक सहमतिबाट अरु कोही पनि छुट्नु भएको छैन, सरकारसँगको सहमतिबाट म मात्रै छुटेको हो,’ उनले भने ।

अहिले पनि तपाईंको नाममा चन्दा आतंक, कब्जा तथा अपहरणका घटना भइरहेको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘अरु पार्टीले वैधानिकरुपमा चन्दा उठाएका छन्, चन्दा उठाउने र भ्रष्टाचार गर्ने कुरा उनीहरुका लागि इलिगलभित्र पर्दैन, हामीले पार्टी सञ्चालनका लागि स्वइच्छाले सहयोग मागेका छौं ।’

प्रकाशित मितिः सोमवार, पुस २६, २०७८     5:41:34 PM  |