16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाघ नियन्त्रणको लागि चितवनबाट प्राविधिक आउँछन्ः एनटिएनसी बर्दियाका प्रमुख रवीन कडरिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस २६, २०७८  

नेपालगन्ज ।

बाँकेमा आंतक मच्चाइरहेको पाटेबाघ नियन्त्रणको लागि चितवनको सौराहामा रहेको एनटिएनसीको कार्यालयबाट प्राविधिक टोली आउने पक्का भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटिएनसी) बर्दियाका प्रमुख रवीन कडरियाले चितवनबाट एउटा टोली बाँके आउन लागेको जानकारी दिए ।

‘हामीसँग रहेको टोली अन्य क्षेत्रमा नै रहेकोले चितवनबाट बाँके अर्को टोली आउँदैछ,’ उनले भने, ‘आइतबार साँझ नै त्यहाँबाट हिँड्ने कुरा थियो ।

सबैसँग समन्वय गरेर चिकित्सकसहित प्राविधिक टोली सोमबार बिहान चितवनबाट हिँड्नेछ ।’

प्रमुख कडरियाका अनुसार सकेसम्म प्राविधिक टोलीले मंगलबारबाट बाघले मान्छे खाएको स्थानमा पुगेर आफ्नो काम थाल्नेछ । बाघको पहिचानको लागि सुरुमा क्यामेरा ट्रयाप जडान गरिने उनले जानकारी दिए ।

‘दुवै स्थानमा मान्छेलाई आक्रमण गर्ने बाघ एउटै हुन की फरक हुन भनेर थाहा पाउनको लागि क्यामेरा राखिनेछ,’ उनले भने, ‘सोही आधारमा मात्र प्राविधिक टोलीले डार्ट गरेर बाघ नियन्त्रणमा लिन्छ ।’

बाघ नियन्त्रणमा लिन प्राविधिकहरुलाई केही दिन लाग्न सक्ने प्रमुख कडरियाले बताए ।

प्रकाशित मितिः सोमवार, पुस २६, २०७८     5:10:18 PM  |