नेपालगन्ज ।
शुक्रबार साँझपख नेपालगन्ज–१८, लग्दहवामा एकजना पुरुषको शंकास्पद अवस्थामा शव भेटिएको छ । जुम्लाका ३३ वर्षीय लोकप्रसाद न्यौपानेको शव शंकास्पद अवस्थामा भेटिएको हो ।
लोकप्रसादको हत्या भएको उनका आफन्तहरुले दाबी गरेका छन् । प्रहरीका अनुसार मृतकको निधारमा थोरै रगत आए जस्तो देखिएको छ भने घाटीमा पनि थोरै कोरिएको जस्तो दाग छ । सामान्य चोट देखिएपछि प्रहरीले हत्या भएको हुन सक्ने आँकलन गरेको छ ।
लग्दहवा सडकअन्तर्गत आँप बगैयाभन्दा दक्षिणतर्फ खेतमा उनको शव भेटिएपछि स्थानीयले शुक्रबार करिब ५ः१५ बजेतिर प्रहरीलाई खबर गरेका थिए । बिहीबार साँझ हत्या भएको हुन सक्ने अनुमान गरिएको छ । मृत भेटिएका न्यौपानेको साथमा अन्य व्यक्तिगत कागजात पनि फेला परेका छन् ।
उनी आलु व्यापारी भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खिमबहादुर घर्तीले जनाए । उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । यसभन्दा अघि पनि यही क्षेत्रमा एकजना युवकको हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्