बाँकेसहित देशका अधिकांश जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन सुरु भएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकैसाथ शुक्रबार जिल्ला अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।
बाँके एमालेको ८ औं जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोलिटब्यूरो सदस्य खेमराज खड्काले अहिलेको सत्ता गठबन्धन अपवित्र रहेको बताए ।
‘यो गठबन्धनसम्म चल्दैन । सत्ता गठबन्धन अपवित्र छ’ उनले भने, ‘अब आउने सबै तहका चुनावमा एमाले पहिलो शक्ति भएर उदाउँछ ।’ उनले नेता कार्यकर्तालाई एमालेका एजेण्डा लिएर जनताको बिचमा जान निर्देशन दिए ।
‘एमाले सरकारमा हुँदा गरेका कामहरुलाई लिएर जनताको माझमा जानुहोस्’ उनले भने, ‘एमालेलाई पहिलो शक्ति बनाउन अब कसैले रोक्न सक्दैन ।’ बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत हुने र त्यसलाई पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया अगाडी बढ्ने एमाले बाँकेका ईन्चार्ज सूर्य ढकालले जानकारी दिए ।
सहमतिमै नेतृत्व चयन हुने उनले बताए । एमाले बाँकेको अध्यक्षको लागि निरक गुरुङ, रत्न खत्री, किस्मत कुमार कक्षपति, डिल्ली विसी र अशोक कर्माचार्यले आकांक्षा देखाएका छन् ।
एमालेका एक नेताअनुसार नेतृत्वको दाबी गर्नेहरुमा गोपाल गिरी र घननाथ खनाल समेत रहेका छन् । ‘सहमतीकै आधारमा नयाँ नेतृत्व चयन हुन्छ’ ईन्चार्ज ढकालले भने, ‘हामी त्यसै लागि छलफल गरिरहेका छौं । जसरी पनि सहमतीमै नेतृत्व छनौट हुन्छ ।’
केन्द्रले नै सहमतीमै नयाँ नेतृत्व छान्न दबाव दिएकोले चुनाव नहुने एमाले बाँकेका एक नेताले मिसन टुडेलाई जानकारी दिए । शुक्रबार रातीसम्म नै आकांक्षीहरुबीच सहमती खोज्नको लागि नेताहरु प्रयास गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्