दाङ ।
घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा दाङ जिल्ला अदालतले प्रहरी जवानसहित एक युवतीलाई पुर्पक्षका जेल चलान गर्न आदेश दिएको छ।
जिल्ला न्यायाधीश हिमलाल बेल्वासेको इजलासले कैदी भगाउन सहयोग गरेको भन्दै प्रहरी जवान धनबहादुर चौधरी र उनीसँगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १० की २२ वर्षीया समी चौधरीलाई पुर्पपक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।
अदालतका सूचना अधिकारी राजेन्द्र शर्माका अनुसार सोमबार भएको थुनछेक बहसमा घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीसँग १० हजार र प्रहरी हवल्दार गणेशकुमार थारुलाई ५ हजार धरौटीमा छोड्न आदेश भएको छ।
त्यस्तै, युवतीलगायत होटलको समेत व्यवस्थापनको काम गरेको अभियोग लागेका घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका वडा नं. १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश भएको सूचना अधिकारी शर्माले बताए।
उनीहरू सबैलाई कारागारका नाइके यमराजलाई भगाउन सहयोगी भूमिका खेलेको अभियोजनमा मुद्दा दर्ता भएको थियो। पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भनेत पुस १६ गते नै रिहा भइसकेका थिए।
प्रतिक्रिया दिनुहोस्