कांग्रेस बाँकेको अधिवेशनः संस्थापनइतर समूहको प्यानल घोषणा, संस्थापन पक्षमा विवाद कायमै



नेपालगन्ज ।

नेपाली कांग्रेस बाँकेको निर्वाचनको लागि संस्थापनइतर समूहले उम्मेदवारको टुंगो लगाएको छ । पुस २७ गते नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्वको लागि निर्वाचन हुँदैछ । सोही क्रममा कांग्रेसको संस्थापनइतर पक्षले सोमबार सभापतिसहित पदाधिकारीका उम्मेदवार घोषणा गरेको छ ।

संस्थापनइतर पक्षले सभापतिमा नारायणप्रसाद गौडेल, उपसभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले ‘आशिष’ तथा सहसचिवमा विश्वराज लम्साल र रेणु सिंहलाई उम्मेदवारको रुपमा अगाडि सारेको छ ।

उम्मेदवारहरुको नाम सोही पक्षका प्रचारप्रसार समिति संयोजकसमेत रहेका कांग्रेस लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालले घोषणा गरेका थिए । उम्मेदवार घोषणा कार्यक्रममा संयोजक भुषालले उम्मेदवारहरुको नाम केही दिन पहिला नै टुंगो लागे पनि सोमबार मात्र घोषणा गरिएको जानकारी दिए ।

‘पदाधिकारीको टुंगो लागेर प्रचारप्रसारमा समेत खटिसक्नुभएको थियो,’ उनले भने, ‘औपचारिकरुपमा मात्र उम्मेदवारहरुको नाम घोषणा गरिएको हो । कार्यसमिति सदस्यहरुको नाम भने केही दिनमा सार्वजनिक गर्नेछौं ।’

उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पदका उम्मेदवार गौडेलले आफ्नो प्यानल निर्वाचित भएपछि जिल्लाभरि छरिएर रहेका तमाम द्वन्द्व पीडितलाई कांग्रेसमा जोड्ने दाबी गरेका थिए । आफ्नो प्यानल निर्वाचित भएपछि पार्टीसँग किसान, तरुण, विद्यार्थी, व्यापारी, मजदुर, सबैको प्रतिनिधित्व हुने उनको दाबी छ ।

‘सबैको दुःख पीडालाई बुझेर हामी काम गर्नेछौं, स्थानीय तथा केन्द्रीय निर्वाचनमा बाँके जिल्लाको तीनै क्षेत्रमा कांग्रेसको चारतारे झण्डा फरफराउने छौं,’ गौडेलले भने । पार्टी तथा कार्यकर्तालाई अनुशासित गराउन पहिलो निर्णयबाटै अनुशासन समिति बनाउनले दाबी गरे ।

घोषणा कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य, कांग्रेस बाँकेका सभापति किरण कोइराला, सचिव तप्त पौडेल, क्षेत्र नम्बर–१ का सभापति पोषण केसी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरलगायत उपस्थित थिए ।

संस्थापन पक्षमा विवाद कायमै

आसन्न नेपाली कांग्रेस बाँकेको निर्वाचनको लागि कांग्रेसको संस्थापन पक्षले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन । संस्थापन पक्षमै सभापति पदका लागि आकांक्षीहरु धेरै भएकोले उम्मेदवार छान्न सकस भएको हो ।

उक्त पक्षबाट सभापति पदका लागि लुम्बिनी प्रदेशका मन्त्रीसमेत रहेका सुरेन्द्र हमाल, निरन्जनसिंह सिजापति, बादशाह कुर्मी, राजकुमार बर्मा, सुनिलनरसिंह राणा र लक्ष्मीनारायण शाह आकांक्षी रहेका छन् ।

तीमध्ये हमाल, सिजापति र कुर्मी मुख्य आकांक्षी रहेको संस्थापन पक्षका एक नेताले जानकारी दिए । सहमतिमै उम्मेदवार छनोट गर्ने संस्थापन पक्षले प्रयास जारी राखे पनि आकांक्षीहरुबीच सहमति हुन नसक्दा समस्या भइरहेको छ ।

सभापतिका उम्मेदवार टुंगो लागे अन्य पदमा समेत सहमतिकै आधारमा उम्मेदवारहरु छान्न सहज हुने संस्थापन पक्षका एक नेताले जानकारी दिए ।

राष्ट्रियसभाका लागि शर्मा

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनको लागि लुम्बिनी प्रदेशबाट बाँकेका युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले बाँके कांग्रेसका पुराना नेता शर्मालाई समेत उम्मेदवार बनाउने निर्णय गरेको हो ।

शर्मासँगै कांग्रेसले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल, कमला पन्त, दुर्गाकुमारी गुरुङ र नारायणदत्त मिश्रलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

कर्णालीबाट गुरुङ र सुदूरपश्चिमबाट मिश्र तथा प्रदेश १ बाट बस्नेत, बागमतीबाट पौडेल, गण्डकीबाट पन्तलाई उम्मेदवार बनाउने निर्णय गरिएको हो । रिक्त पदको लागि आगामी माघ १२ गते राष्ट्रियसभा निर्वाचन हुँदैछ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस २० गते मंगलबार