नेपालगन्ज ।
भारतबाट नेपालगन्जस्थित जमुनाह नाका हुँदै स्वदेश फर्किएका नौजनामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण पुष्टि भएको छ । सोमबार उक्त नाकामा तीन सय सातजनामा कोरोना भाइरस परीक्षण गर्दा नौजनामा संक्रमण देखिएको हो ।
सातजना पुरुष र दुईजना महिलामा कोरोना भाइरस संक्रमण देखिएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जनाए । उनका अनुसार कोरोना भाइरस संक्रमण देखिएका नौजनालाई नै भेरी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।
भारतमा ओमिक्रोन तीव्ररुपमा फैलिरहेकाले उतैबाट आएका नेपालीमा भाइरस संक्रमण देखिएकाले ओमिक्रोनको आशंका गरिएको छ ।
यद्यपि उनीहरुलाई ओमिक्रोन भए नभएको बारे एकीन गर्ने प्रविधि नेपालगन्जमा छैन । संक्रमण पुष्टि भएका केही बाहिरी जिल्लाका समेत रहेकाले उनीहरुलाई उतै पठाउने तयारी भइरहेको ओलीले बताए ।
प्रकाशित मिति : २०७८ पुस २० गते मंगलबार









प्रतिक्रिया दिनुहोस्