16 April 2024  |   बुधबार, बैशाख ५, २०८१

बाँकेका स्थानीय तहको पहिलो चौमासिकः न्यून पुँजीगत खर्च

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २०, २०७८  

समयमै बजेट, अख्तियारी तथा निकाशा, अनुगमन मूल्यांकन, स्रोतको सुनिश्चितता, खरिद प्रक्रिया जस्ता पक्षहरूमा सुधार गरिए
तापनि खर्चको सामथ्र्य र वर्षको अन्त्यमा खर्च गर्ने परिपाटीमा
सुधार आउन सकेको छैन । जसले गर्दा पहिलो चौमासिकमा पुँजीगत रकम कम खर्च भएको हो ।शुभाकर विश्वकर्मा । कोहलपुर ।

बाँकेका आठ स्थानीय तहमा चालू आर्थिक वर्ष २०७८/०७९ को पहिलो चौमासिकमा पुँजीगत बजेट खर्च निरासाजनक देखिएको छ ।

पहिलो चौमासिकमा चालू बजेट भने बढी देखिन्छ । ती पालिकामा न्यूनतम २ प्रतिशतदेखि अधिकतम् ३१ प्रतिशतसम्म पुँजीगत बजेट खर्च पाइएको हो ।

सबैभन्दा कम पुँजीगत बजेट खर्च गर्नेमा नेपालगन्ज उपमहानगरपालिका अग्रस्थानमा छ भने सबैभन्दा धेरै बजेट नरैनापुर गाउँपालिकाले खर्च गरेको छ । नरैनापुर गाउँपालिकाले भने ३१.०८ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । गाउँपालिकाका आन्तरिक परीक्षण शाखाका सहायक पाँचौ तहमा कार्यरत काशिराम रिजालका अनुसार संघीय, प्रदेश र जिल्ला समन्वय समितिसमेतको कुल १८ करोड ९८ लाख रुपैयाँ पाँच करोड ९० लाख आठ हजार ६ सय ९९ रुपैयाँ खर्च भएको छ ।

उनले नरैनापुर गाउँपालिकाले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा २१.६१ प्रतिशत बजेट खर्च गरेको जानकारी दिए । नरैनापुर गाउँपालिकामा कुल विनियोजित चालू बजेट ३१ करोड नौ लाख ७६ हजार चार सय ६४ रुपैयाँ । तीमध्ये ६ करोड ७२ लाख ११ हजार ६ सय ६६ रुपैयाँ चालू बजेट खर्च भएको रिजालको भनाइ छ । अब २४ करोड ३७ लाख रुपैयाँ चालू बजेट मौज्जात छ ।

नरैनापुरपछि जिल्लाको जानकी गाउँपालिकाले सबैभन्दा बढी खर्च गरेको छ । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा जानकीमा कुल ३०.३१ प्रतिशत पुँजीगत बजेट खर्च भएको छ ।

गाउँपालिकाका लेखा अधिकृत मतिन अहमद अन्सारीका अनुसार चालू बजेट खर्च प्रतिशत २३.५३ प्रतिशत छ । उनले गत आर्थिक वर्षमा जानकी गाउँपालिकामा कुल पुँजीगत बजेट ६२.७३ प्रतिशत खर्च भएको जानकारी दिए । यस्तै गत आर्थिक वर्षमा जानकी गाउँपालिकामा कुल चालू बजेट खर्च ७७.८१ प्रतिशत रहेको थियो ।

नरैनापुर र जानकीपछि जिल्लाको एकमात्र नगरपालिकासमेत रहेको कोहलपुरमा चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्मको एकीकृत व्यय विवरणअनुसार १४.६४ प्रतिशत पुँजीगत खर्च भएको छ ।

कुल ७० करोड ३३ लाख ७४ हजार तीन सय १५ बजेटमध्ये १० करोड २९ लाख ९९ हजार आठ सय पाँच रुपैयाँ पुँजीगत बजेट खर्च भएको छ । ६० करोड तीन हजार सात सय ४४ रुपैयाँ बजेट मौज्जात रहेको लेखा अधिकृत सन्दीपसिंह सुनारले जानकारी दिए । उनका अनुसार चालू बजेट भने १९.६७ बजेट खर्च भएको छ ।

कोहलपुरमा कुल वार्षिक ६२ करोड १९ लाख ५४ हजार ७० रुपैयाँ चालू बजेटमध्ये १२ करोड २३ लाख १० हजार तीन सय ८१ रुपौयँ ९३ पैसा भएको छ । ४९ करोड ९६ लाख ४३ हजार ६ सय ८८ रुपैयाँ सात पैसा बजेट मौज्जात छ ।

यसैगरी नगरपालिकामा क्षेत्रगत शीर्षकमा पनि बजेट खर्च भएको उनले बताए । चालू आर्थिक वर्षको पहिलो चौमासिकमा आर्थिक विकासतर्फ ७.१५ प्रतिशत, सामाजिक विकासतर्फ १७.७७ प्रतिशत, पूर्वाधार विकासतर्फ १५.४२ प्रतिशत, शुसासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ २६ प्रतिशत र कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ २२.५ प्रतिशत बजेट खर्च भएको छ ।

क्षेत्रगत शीर्षकमा कुल विनियोजित एक अर्ब ३२ करोड ५३ लाख २८ हजार तीन सय ८५ मध्ये २२ करोड ५३ लाख १० हजार एक सय ८६ रुपैयाँ ९८ पैसा बजेट खर्च भएको छ ।

कुल १७ प्रतिशत बजेट खर्च हुँदा एक अर्ब १० करोड १८ हजार एक सय ९८ रुपैयाँ दुई पैसा बजेट मौज्जात छ ।
राप्तीसोनारी गाउँपालिकामा कुल पुँजीगत २६ करोड ४७ लाख २३ हजार चार सय ५१ रुपैयाँ वार्षिक बजेटमध्ये दुई करोड ५१ लाख ३९ हजार ७० रुपैयाँ खर्च भएको छ ।

राप्तीसोनारीमा ९.५ प्रतिशत खर्च हुँदा २३ करोड ९५ लाख ८४ हजार तीन सय ८१ रुपैयाँ पुँजीगत बजेट मौज्जात छ । आर्थिक प्रशासन शाखा प्रमुख गौरवकुमार लामिछानेका अनुसार २२.०७ प्रतिशत चालू बजेट खर्च भएको राप्तीसोनारीमा चालू आवमा कुल विनियोजित वार्षिक बजेट ६१ करोड आठ हजार नौ सय रुपैयाँ थियो ।

उनले पहिलो चौमासिकमा १३ करोड ४६ लाख चार हजार दुई सय ३९ रुपैयाँ बजेट खर्च भएको र ४७ करोड ५४ लाख चार हजार ६ सय ६१ रुपैयाँ मौज्जात बताए ।

राप्तीसोनारी चालू र पुँजीगत गरी ८७ करोड ४७ लाख दुई हजार तीन सय ५१ रुपैयाँ वार्षिक बजेटमध्ये १५ करोड ९७ लाख ४३ हजार तीन सय नौ रुपैयाँ खर्च भएको छ । कुल १८.२६ प्रतिशत खर्च हुँदा ७१ करोड ४९ लाख ८९ हजार ४२ रुपैयाँ मौज्जात छ ।

संघीय सरकारतर्फ कुल ४८ करोड ३४ लाख ७० हजार समानिकरण अनुदानमध्ये वास्तविक आय ‘खर्च’ १४ करोड १९ लाख ९२ हजार चार सय १२ रुपैयाँ र मौज्जात ३४ करोड १४, लाख सात हजार पाँच सय ८८ रुपैयाँ छ । शसर्त अनुदान शीर्षकको चालू बजेट १७ करोड १९ लाख बजेट खर्च भएको छैन ।

पुँजीगत भने ३० करोड १९ लाख ७० हजारमध्ये १४ करोड १९ लाख ९२ हजार चार सय १२ रुपैयाँ खर्च र १५ करोड ९९ लाख ७७ हजार पाँच सय ८८ बजेट मौज्जात छ । विभिन्न शीर्षकमा प्रदेश सरकारबाट आएको ३ करोड ७७ लाख ४७ हजार रुपैयाँ खर्च नै भएको छैन ।

यस्तै राजस्व बाडफाँड शीर्षकअन्तर्गतको १७ करोड ८३ लाख एक हजार तीन सय ५१ रुपैयाँमध्ये दुई करोड २९ लाख ९८ हजार तीन सय ९३ रुपैयाँ ७५ पैसा खर्च भएको छ भने मौज्जात १५ करोड ५३ लाख दुई हजार नौ सय ५७ रुपैयाँ २५ पैसा रहेको छ ।

अन्तरिक स्रोतमा रहेको १८ करोड ६२ लाख ८४ हजार खर्च भएको छैन । संघीय, प्रदेश सरकार, राजस्व बाँडफाँड र आन्तरिक स्रोत शीर्षकको कुल ८८ करोड ५८ लाख दुई हजार तीन सय ५१ रुपैयाँमध्ये १६ करोड ४९ लाख ९० हजार आठ सय पाँच रुपैयाँ ७५ पैसा खर्च भएको छ भने, ७२ करोड आठ लाख ११ हजार पाँच सय ४५ रुपैयाँ २५ पैसा मौज्जात छ ।

यस्तै बैजनाथ गाउँपालिकाका लेखा अधिकृत पूर्णप्रसाद जैसीका अनुसार चालू आर्थिक वर्षको पहिलो चौमासिकमा कुल पुँजीगत बजेट ४० करोड ७८ लाख ९३ हजारमा एक करोड ८० लाख ४२ हजार रुपैयाँ खर्च भएको छ ।

उनले पहिलो चौमासिकमा कुल पुँजीगत बजेटको ४.५० प्रतिशत बजेट खर्च भएको जानकारी दिए । ‘पहिलो चौमासिकमा ठेक्का प्रक्रियामा जाँदा पुँजीगत खर्च कम देखिएको छ । करिब ४२ वटा ठेक्का खोलेर, सम्झौता गरेर पनि काम गर्ने चरणमा छन् । भौतिक प्रगति धेरै भएको छ । वित्तीय प्रगति मात्रै कम भएको हो,’ लेखा अधिकृत जैसीले भने ।

खजुरा गाउँपालिकामा पनि पुँजीगत बजेट खर्च न्यून रहेको छ । लेखा अधिकृत प्रदीप सुनारका अनुसार खजुरामा पहिलौ चौमासिकमा कुल ३३ करोड ७२ लाख ९९ हजार पाँच सय ४२ रुपैयाँ १९ पैसामध्ये एक करोड ४० लाख २० हजार तीन सय ४२ रुपैयाँ २५ पैसा खर्च भएको छ । पहिलो चौमासिक पुँजीगत बजेट खर्च जम्मा ४.१५ प्रतिशत रहेको छ ।

नेपालगन्जमा निरासाजनक बजेट खर्च

बाँकेका आठ स्थानीय तहमध्ये नेपालगन्ज उपमहानगरपालिकामा पुँजीगत बजेट खर्च अति कम छ । पहिलो चौमासिकमा सबैभन्दा कम पुँजीगत खर्च गर्ने स्थानीय तह पनि नेपालगन्ज नै हो । चालू आर्थिक वर्ष २०७८÷०७९ को साउन १ देखि मंसिर २९ गतेसम्मको तथ्यांकअनुसार पुँजीगत बजेट खर्च जम्मा २.९४ प्रतिशत छ ।

उपमहानगरपालिकामा कुल ६८ करोड ४६ लाख चार हजार एक सय ७१ रुपैयाँ ३६ पैसामध्ये जम्मा दुई करोड एक लाख ५८ हजार एक रुपैयाँ १० पैसा भएको छ । नेपालगन्जमा पुँजीगतभन्दा चालू बजेट भने बढी नै खर्च भएको छ ।

लेखा अधिकृत लोकेन्द्र रावतका अनुसार पहिलो चौमासिकमा २५.३६ प्रतिशत चालू बजेट खर्च भएको छ । नेपालगन्जमा चालू आवमा एक अर्ब दुई करोड ५४ लाख ९४ हजार दुई सय दुई रुपैयाँ २७ पैसा चालू बजेट विनियोजित गरिएको छ । यहाँ चार महिनामा चालू तर्फ २८ करोड ९६ हजार एक सय सात रुपैयाँ ३९ पैसा खर्च भएको लेखा अधिकृत रावत बताउँछन् ।

यस्तै नेपालगन्जमा संघीय सरकारमार्फत आएको कुल ९७ करोड १९ हजारमध्ये ४८ करोड आठ लाख ७६ हजार नौ सय ६२ भएको छ । प्रदेश सरकारबाट प्राप्त सात करोड ७८ लाख एक हजारमध्ये जम्मा एक करोड ९४ लाख ५० हजार दुई सय ५० रुपैयाँ खर्च भएको छ । राजस्व बाँडफाँड शीर्षकको कुल ३१ करोड ५४ लाख १७ हजार सात सय ४८ रुपैयाँ तीन पैसामध्ये ६ करोड ७३ लाख २० हजार एक सय २७ रुपैयाँ ४५ पैसा खर्च गरेको छ ।

किन हुन्छ पुँजीगत खर्च कम

पहिलो चौमासिकमा जनप्रतिनिधिहरु कर्मचारीमा कामको हतारो हुँदैन । असार मसान्तसम्म काम सम्पन्न गर्ने पराम्परागत सोचबाट उनीहरु अछुतो छैनन् । केही कानुनी अड्चनका कारण पनि पुँजीगत रकम खर्च गर्न सक्ने अवस्था हुँदैन । तर गर्न सक्ने जति पनि जनप्रतिनिधि र कर्मचारीहरु लाग्दैनन् ।

आर्थिक मसान्तमा करिब एक चौथायी रकम खर्च हुन्छ । जसबाट गुणस्तरहीन काम भएका पनि कयौं उदाहरणहरु देखिएका हुन्छन् ।

यो समयमा योजना सम्झौतालगायत कार्यालयगत काम हुने समय भए पनि योजना सम्झौता र कार्यालयगत काम भएको पनि देखिँदैन । यसरी हेर्दा जनप्रतिनिधि र कर्मचारीले समयमै पुँजीगत रकम खर्च गर्न अनुइछुक देखिएको पुष्टि हुन्छ ।

समयमै बजेट, अख्तियारी तथा निकाशा, अनुगमन मूल्यांकन, स्रोतको सुनिश्चितता, खरिद प्रक्रिया जस्ता पक्षहरूमा सुधार गरिए तापनि खर्चको सामथ्र्य र वर्षको अन्त्यमा खर्च गर्ने परिपाटीमा सुधार आउन सकेको छैन । जसले गर्दा पहिलो चौमासिकमा पुँजीगत रकम कम खर्च भएको हो ।

प्रकाशित मितिः मङ्लबार, पुस २०, २०७८     2:07:09 PM  |