21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

राप्तीसोनारीमा नदीजन्य पदार्थको अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस १९, २०७८  

खगेन्द्र दाहाल । नेपालगन्ज ।

बाँकेको राप्तीसोनारी गाउँपालिका नदीजन्य पदार्थले धनि पालिका हो । गिट्टी, ढुंगा र बालुवाका कारण समयसमयमा चर्चामा आउने गर्छ । पछिल्ला दिनमा नदीजन्य पदार्थ स्टोर गरेर राखेको भन्ने खबर आउन थालेपछि यस विषयमा गाउँपालिकाले चासो बढाएको छ ।

विभिन्न नदी क्षेत्र नजिकै नदीजन्य पदार्थ स्टोर गरी राखेको गुनासो आएपछि गाउँपालिकाका अध्यक्ष लाहुराम थारुको अगुवाइमा अनुगमन गरिएको छ । नदीजन्य पदार्थको स्टोर प्रमाणित गर्न अनुगमन गरिएको गाउँपालिका अध्यक्ष थारुले जानकारी दिए ।

अनुगमनमा राप्तीसोनारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाही, योजना शाखा प्रमुख बालानन्द पौडेल, लेखा प्रमुख गौरवकुमार लामिछाने, सवईन्जिनियर रामबहादुर बुढा, प्रहरी, प्रशासनसमेतको उपस्थिति रहेको थियो ।

गाउँपालिकाको खैरी खोला, मुगुवा खोला, टीकुलिपुर घाट र दुईवटा क्रसर उद्योगहरुमा अनुगमन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले जनाए । अनुगमनका क्रममा खोलामा कति नदीजन्य पदार्थ छ भनेर प्रमाणित गरिएको पालिकाले जनाएको छ ।

आइतबार गरिएको अनुगमनले प्रमाणित गरेकै आधारमा स्टक रहेका पदार्थ बिक्री गर्न दिइने भएको योजना शाखा प्रमुख बालानन्द पौडेलले जानकारी दिए । नदीजन्य पदार्थ बिक्री गर्दा गाउँपालिकामा जानकारी गराउने र आवश्यक प्रक्रिया निभाएपछि मात्र बिक्री गर्न दिइने पालिकाले जनाएको छ ।

वातावरण संरक्षण ऐन २०७६ र नियमावली २०७७ अनुसार जुनसुकै प्राकृतिक स्रोत र साधनको उत्खनन, ओसारपसार, प्रयोग र संरक्षणका लागि प्ररारम्भिक वातावरणीय प्रभाव मूल्यांकण र बृहत् वातावरणीय प्रभाव मूल्यांकण अनिवार्य गर्नुपर्दछ ।

नदीजन्य पदार्थका हकमा स्थानीय निकाय, प्रदेश र संघीय सरकारहरुले वातावरण संरक्षण ऐन २०७६ र नियमावली २०७७ को मातहतमा रहेर छुट्टा छुट्टै नीति नियमहरु बनाएर नदीजन्य सामानहरु उत्खनन, ओसारपसार एवम् क्रसर उद्योगहरु स्थापित गर्दा ऐन नियम र प्रक्रिया पु¥याएमा सञ्चालनका लागि अनुमति लिएर सञ्चालन गर्न सकिने प्रावधानहरु राखिएको छ ।

सोहीअनुसार केही व्यक्ति तथा क्रसर उद्योगहरुले मनोमानी गरेको जनगुनासो गाउँपालिकामा आउन थालेपछि पालिका अध्यक्षसहितको अनुगमन टोलीले सम्बन्धित क्षेत्रहरुमा अनुगमन गरेको हो ।

 

प्रकाशित मितिः सोमवार, पुस १९, २०७८     6:59:24 PM  |