कहाँ छन् नेपालगन्जमा साढे ८७ लाखमा किनिएका २६ हजार डस्टविन ?



नेपालगन्ज ।

एडीबीको सहकार्यमा गत वर्ष नेपालगन्ज उपमहानगरपालिकाले नगरका १० वटा वडामा फोहोर मैला व्यवस्थापनका लागि करिब २६ हजार डस्टविन खरिद ग¥यो ।

जसमध्ये करिब नौ हजार आठ सय डस्टविन मात्र वडा नम्बर १, २, ४, ५, ६, ९, १०, १३, १८, २० नम्बर वडामा डस्टविन वितरण भयो  एडीबी र उपमहानगरपालिकाको फोहोर मैला व्यवस्थापन कार्यक्रम सम्झौताअनुसार वडा नम्बर १, १० र १८ ले कार्यक्रम गर्न नमानेपछि सातवटा वडामा मात्रै अहिले उक्त कार्यक्रम सीमित छ । अहिले ति वितरण गरिएका डस्टविन कहाँ छन् ? प्रयोगमै छन् कि कतै फालियो ?

डस्टविन पूरै वितरण गरियो त ? अहिले यसको समीक्षा गर्नेबेला आएको छ । वितरण गरिएका ति डस्टविन अहिले भेटाउनै मुस्किल छ । प्रभावकारीरुपमा व्यवस्थापन र संरक्षण गर्न नसक्दा अहिले ति डस्टविनहरु प्रयोगविहीन भएका छन् । तर वातावरण तथा सरसफाइ शाखाले भने करिब नौ हजार आठ सय मात्र वितररण गरेको जनाएको छ ।

बाँकी डस्टविन भने नगरमै रहेको र आवश्यकताअनुसार वितरण भइरहेको वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । ‘माग भएअनुसार आवश्यकताका हिसाबमा हामीले डस्टविन दिने गरेका छौं,’ वातावरण तथा सरसफाइ शाखा स्रोतले भन्यो, ‘डस्टविन दिँदा प्रतिडस्टविन ५० रुपैयाँ राजस्व राख्छौं ।’

उपमहानगरपालिका र एडीबीबीच गत कात्तिकमा उक्त कार्यक्रमको सम्झौता भएको थियो भने मंसीरमा डस्टविन आवश्यक पर्ने टोल समुदायको तथ्यांकन संकलन गरी वितरण गरिएको नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको वातावरण तथा सरसफाइ शाखाले जनाएको छ । यो कार्यक्रम यस आर्थिक असारसम्म सम्झौता अवधि छ ।

तस्विर सौजन्यः नफिस् हाजी जर्गर

कतिपय ठाउँमा भने डस्टविन सदुपयोग भएका छन् । अधिकांश ठाउँमा राखिएका डस्टविनको अवस्था भने उपमहानगरपालिका बेखबर छ । स्रोतका अनुसार नेपालगन्ज उपमहानगरपालिकाबाट अहिलेसम्म कुनै अनुगमन तथा निरीक्षण भएको छैन ।

‘डस्टविन वितरण गरेपछि अहिलेसम्म एकपटक पनि अनुगमन तथा निरीक्षण भएको छैन,’ स्रोतले भन्यो, ‘तर डस्टविनको प्रयोग अवस्था कस्तो छ, त्यो विषयमा उपमहानगरपालिका जानकार छ ।’ कतिपय ठाउँमा डस्टविन प्रयोग राम्रो भएको र कतिपयमा राम्रोसँग प्रयोग नभएको मिश्रिम प्रतिक्रिया आएको स्रोतले जनाएको छ ।

उपमहानगरपालिकाको स्रोतअनुसार २६ हजार डस्टविन खरिद भएको थियो । प्रतिडस्टविन दुई सय ९८ रूपैयाँका दरले उक्त डस्टविन खरिद गरिएको थियो । २६ हजारलाई दुई सय ९८ रूपैयाँले गुणा गर्दा कूल ७७ लाख ४८ हजार रूपैयाँमा सबै डस्टविन खरिद भएको थियो । थप यसमा भ्याट जोड्दा ८७ लाख ५५ हजार रूपैयाँ खरिदमा खर्च भएको छ ।

भ्याटसहित प्रतिडस्टविन तीन सय ३६ रुपैयाँ ७४ पैसा पर्न जान्छ । स्रोतका अनुसार सहरी विकास परियोजनाको सिफारिसमा उपमहानगरपालिकाले बिल भुक्तानी गरेको हो ।

‘स्थानीयलाई नै स्वामित्व दिनुपर्छ’

सार्वजनिक क्षेत्र र बेवारिसेभन्दा पसल वा टोलको जिम्मामा डस्टविन दिँदा हराउने र चिरिने समस्या नहुने समर्पण नेपालका धर्मेन्द्र धितालले बताए । फोहोर व्यवस्थापनमा डस्टविनमात्र वितरण गरेर नहुने भन्दै उनले भने, ‘डस्टविनको उचित हेरफेर र संरक्षण पनि गर्नुपर्छ ।’

जथाभावीरुपमा डस्टविनहरु राखिँदा केही डस्टविन हराएको र केही चोरी भएको उनको भनाइ छ । ‘तीन पसलेलाई एउटा डस्टविन दिने,’ उनी भन्छन्, ‘त्यो डस्टविनको रेखदेख त्यही तीन पसलेले गर्छन ।

अनि डस्टविन हराउँदैनन् र चोरी पनि हुँदैनन् ।’ सफाइ व्यवस्थापनका नाममा भ्रमण हुने गरे पनि भ्रमणबाट फर्किएर केही सुधारात्मक काम नहुने उनी बताउँछन् ।

‘राम्रो गर्ने चाहाना हो’

कार्यक्रम भने जस्तो नहुने भन्दै वातावरण तथा सरसफाइ शाखाका वातावरण इन्जिनियर प्रकाश डिसीले भने, ‘जनप्रतिनिधि, कार्यालय प्रमुखसँगको सहकार्य र समन्वयमा बाँकी डस्टविन वितरण भइरहेका छन् ।’

‘वितरण गरिएका डस्टविन उचित प्रयोग हुनुपर्ने थियो,’ उनी भन्छन्, ‘हाम्रो चाहाना पनि त्यही हो । तर कार्यक्रम भनेजस्तो हुँदेन ।’

 

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १९ गते सोमबार