बुधबार राति कोठामा आगो बाल्न प्रयोग गरिएको कोइलाका कारण निसासिएर मृत्यु भएका चारजनाको अन्त्येष्टि गरिएको छ । उनीहरुको शुक्रबार नेपालगन्जस्थित राप्ती नदीमा अन्त्येष्टि गरिएको हो ।
कर्णाली प्रदेश खरिद शाखा तथा आपूर्ति शाखाको क्वाटरमा चारजनाको मृत्यु भएको थियो । शाखामा कार्यालय सहयोगी पदमा कार्यरत रहेका मृतक धनप्रसाद भट्टराईसहित उनका ३ वर्षीय छोरा इप्सन भट्टराई, आमा कोपिला भट्टराई र दिदी नन्दकली भट्टराईको सामूहिक अन्त्येष्टि गरिएको आफन्तहरुले जनाएका छन् ।
उक्त कोठामै निसासिएर गम्भीर घाइते भएका अन्य तीनजनाको भने अवस्था सामान्य छ । आफन्त लक्ष्मण आचार्यका अनुसार शुक्रबार मृतक चारजनाको सामूहिक अन्त्येष्टि गरिएको हो ।
भेरी अस्पतालको आइसियूमा उपचाररत अन्य तीनजनाको अवस्था सामान्य रहेको उनले बताए । अस्पतालमा मृतक धनप्रसाद भट्टराईकी श्रीमती शुसिला भट्टराई, उनका जेठा छोरा दिवश भट्टराई र घाइते शुसिलाका देवर नरेन्द्र भट्टराईको अवस्था सामान्य छ ।
घाइतेमध्ये शुसिला सबैसँग बोलचाल गर्न सक्ने अवस्थामा छिन् । उनी राम्रोसँग बोल्न सक्ने अवस्थामा पुगेको तर, उपचार भइरहेको उनले जानकारी दिए । घाइतेमध्ये नरेन्द्र भने अझै राम्रोसँग बोल्न सकिरहेका छैनन् ।
तर उनको स्वास्थ्य अवस्था सुधारात्मक रहेको आफन्त आचार्यले बताए ।
प्रतिक्रिया दिनुहोस्