चिसो भुईँमाथि पराल, परालमाथि पातलो ओछ्यान । त्यही ओछ्यानमा सुत्छन् ६१ वर्षीय टाइमिया मुसलमान । खुला आकाशमुनि त्रिपालले बेरेर बनाएको टहरामा उनको दैनिकी धकेलिन्छ । नेपालगन्ज–कोहलपुर सडक खण्डअन्तर्गत पार्वतीपुरमा उनी मात्र होइन करिब २५ टहरा यसैगरि बस्छन् ।
बर्खाले डुबानमा परेको जमिनमा भर्खरै पानी सुके पनि ओभानो भएको छैन । मंगलबारदेखि बिहीबार रातिसम्मको वर्षाले झनै जमिन चिसो बनाएको छ । त्यही चिसो भुईँमा सुत्न बाध्य छन् टाइमिया । उनी पर्साको जितपुरबाट यहाँ व्यापारका लागि आएको ६ महिना भयो ।
पर्सामा हुने व्यापारले परिवार पाल्न नसक्ने अवस्था भएपछि उनी बाँकेसम्म पुगे । ‘जग्गा जमिन नहुँदा पर्सामा पनि घर छैन,’ उनी भन्छन्, ‘स्थायी ठेगाना पर्सा भए पनि निश्चित ठाउँ छैन ।’ कोहलपुर तथा नेपालगन्ज क्षेत्रमा उनले दैनिक औठी बिक्री गर्छन् ।
त्यसबाट दैनिक चारदेखि पाँच सयसम्म आम्दानी गर्ने उनले चारजनाको परिवार पालनपोषण गर्छन् । ‘दिनमा कमाएको पैसा जम्मा गर्न पुग्दैन,’ उनी भन्छन्, ‘कहाँबाट जग्गा जमिन खरिद गरेर घर बनाउनु ।’ उनीजस्तै वीरगन्जकी मोविना खान पनि चिसो भुईँमा रात बिताउँछिन् ।
‘मंगलबार रातिदेखि बिहीबार बिहानसम्मको वर्षाले झनै समस्या बनायो,’ उनले भनिन्, ‘वर्षापछि भएको चिसोले रात कटाउनै मुस्किल भयो ।’ घरबारविहीन आफू त्रिपालमुनि बस्ने रहर नभइ बाध्यता भएको भन्दै उनले भन्छिन्, ‘बस्ने घर छैन, लगाउन बारी पनि छैन ।’ संविधानमै नागरिकलाई खान लगाउन व्यवस्था हुँदा पनि सरकारले आफूलाई अनागरिकको दर्जा दिएको उनी बताउँछिन् ।
‘हामी पनि यही देशको नागरिक हौँ,’ उनले भनिन्, ‘तर राज्यले हामीलाई नागरिक सम्झेन ।’ बारा, पर्सालगायतका जिल्लाबाट आएका उनीहरु गाडीमा लगाउने स्टीकर, झल्लर र औँठी बिक्री गर्छन् । तर दिनभरिको कमाइले उनीहरुको साँझबिहानको छाक टार्न ठिक्क हुन्छ । दिनमा जेनतेन चिसो जाने भए पनि रातमा चिसो सताउने जलाउलिन मेयाले बताए ।
‘चिसो अत्यधिक बढ्दै छ,’ उनी भन्छन्, ‘त्रिपालको बास । राति आगो ताप्नलाई दाउरासमेत छैनन् ।’ आफू बाहिरी जिल्लाको भएकाले यहाँका स्थानीय तहले पनि गम्भीररुपमा नलिएको भन्दै उनले भने, ‘आफ्नो जन्म ठाउँको स्थानीय सरकार पनि हाम्रो समस्या देख्दैन । यहाँको त झन आफ्नो स्थानीय तहको भएको भन्दै पन्छिन्छ ।’ यो वा त्यो स्थानीय तहको बहानामा आफूहरुलाई अनागरिकको दर्जामा सरकारले राखेको उनको दुखेसो छ । पछिल्लो समय चिसो बढ्दै जान थालेको छ । बाँकेमा हुने शीत लहर अझै सुरु भइसकेको छैन ।
शीत लह हुँदा झनै आफूहरुलाई समस्या हुने उनीहरुको भनाइ छ । यहाँ बस्ने बृद्धबृद्धा, बालबालिकालाई चिसो झनै सताउने गरेको छ । बालबालिकामा निमोनियालगायतका चिसोबाट हुने संक्रमण बढ्न सक्ने साजरु खातुनले बताए । ‘साना बालबच्चा र बृद्धबृद्धा पनि यही त्रिपालमा बस्छन्,’ उनले भने, ‘चिसोबाट उनीहरुलाई बचाउन गाह्रो भइरहेको छ ।’
प्रतिक्रिया दिनुहोस्