नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले यथास्थितिमै मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नहुने स्पष्ट पारेका छन् । नेपालगन्ज विमानस्थलमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै उनले अहिले नै एमसीसी पारित नहुने बताएका हुन् ।
‘अहिले नै संसद्बाट एमसीसी पारित हुँदैन,’ सहमहामन्त्री राठौरले भने, ‘राष्ट्रिय सहमति कायम गरेर मात्र एमसीसी पारित हुन्छ ।’ एमसीसीका केही बुँदाहरु परिमार्जन गरेर मात्र पारित गर्नुपर्ने उनको भनाइ छ ।
उनले नेता कार्यकर्ताहरुलाई अब एकढिक्का भएर लाग्न आह्वानसमेत गरे । महाधिवेशनले एकताको सन्देश दिएको भन्दै सहमहामन्त्री राठौरले भने, ‘अब पार्टी सुदृढ ढंगले अघि बढ्छ । तपाईंहरु समेत अब एकढिक्का भएर लाग्नुहोस् ।’
आगामी चुनावमा कांग्रेस एक्लै वा गठबन्धन बनाएर चुनावमा जाने भन्नेबारेमा समय आएपछि मात्रै निर्णय हुने उनले जानकारी दिए । सहमहामन्त्री राठौरले बाँके कांग्रेसको हुन लागेको निर्वाचनमा आफूले सर्वसम्मत्को प्रयास गर्ने दाबीसमेत गरे । ‘बाँके कांग्रेसको अधिवेशन सर्वसम्मत्बाटै चुनिनेछ । त्यो सम्भव नभए लोकतान्त्रिक मान्यताअनुरुप निर्वाचन गरिनेछ,’ उनले भने ।
यस्तै सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक गृह जिल्ला बर्दिया जान नेपालगन्ज विमानस्थलमा आइपुगेका राठौरलाई नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए । उनी नेपालगन्ज विमानस्थलबाट सीधैं गृहनगर बर्दियातर्फ लागेका हुन् ।










प्रतिक्रिया दिनुहोस्