नेपालगन्ज विमानस्थल बाहिरबाट एक किलो सुनसहित दुई पक्राउ



नेपालगन्ज ।

बाँकेको नेपालगन्ज विमानस्थल बाहिरबाट एक किलो सुनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका– २० मा रहेको विमानस्थल छेउको एक होटलबाट प्रहरीले सुनको एक किलोको बिस्कुटसहित बुधबार राती दुई जनालाई नियन्त्रणमा लिएको हो ।

अबैध सुनको कारोबार भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीले सुन जस्तो देखिने पहेलो रंगको धातुसहित दुई जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरीले बरामद गरेको एउटा सुनको बिस्कुटमा (गोल्ड एक किलो) देखिएको छ । पक्राउ पर्नेहरुमा जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर– ६ का २२ वर्षीय राजु कार्की र वडा नम्बर ८ का २९ वर्षीय पूर्णबहादुर विक रहेका छन् ।

उनीहरुको साथबाट सुनसहित दुई लाख सतहत्तर हजार नगद र चार लाख रुपैयाँको चेक समेत बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

उच्च स्रोतकाअनुसार पक्राउ परेकाहरु काठमाडौंबाट जहाजबाट नेपालगन्ज ओर्लिएर सुर्खेतमा सुन लैजादैं थिए । पक्राउ परेका दुई जनाको साथमा एक किलो मात्र नभएर अरु धेरै सुन रहेको उच्च स्रोतले जनाएको छ ।

बाँके प्रहरीले भने एक किलो मात्र बरामद भएको दाबी गरेको छ । केही महिनाअघि मात्र नेपालगन्ज विमानस्थलबाट ४ किलो बढी सुन बरामद भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार