ठाकुरबाबा र ब्यासबीच मितेरी साइनो



बर्दिया ।

बर्दियाको ठाकुरबाबा नगरपालिका र गण्डकी प्रदेश तनहुँको ब्यास नगरपालिकाबीच मितेरी साइनोसम्बन्धी सम्झौता भएको छ ।

ब्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न पुगेका बेलामा ठाकुरबाबा नगरपालिकासँग मितेरी साइनोसम्बन्धी सम्झौता भएको हो ।

भुरिगाउँमा ब्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल र ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । आर्थिक समृद्धिका लागि सँगसँगै भन्ने नारासहित मितेरी सम्बन्ध स्थापना गरिएको बताइएको छ ।

यो सम्झौता कम्तिमा पाँच वर्षसम्म कायम रहने र सम्झौता अवधि सकिएपछि पनि दुवै पक्षबीचको सम्बन्ध कुनै पक्षले अन्त्य नगरेसम्म कायम रहने ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए ।

कृषि, शिक्षा, स्वास्थ्य, सरसफाइ, पर्यटन प्रबद्र्धधन तथा आयआर्जन र विकास निर्माणमा तराई तथा पहाडका पालिकाले गरेका राम्रा कामको सिको गर्दै अघि बढ्ने उद्देश्यसहित मितेरी साइनो गाँसिएको ब्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार