कोहलपुर नगरपालिकामा कर्मचारीहरु कामभन्दा बढी राजनीति गर्छन् भन्ने गुनासो जनप्रतिनिधिको छ । स्थायी सरकार भनिने कर्मचारीतन्त्र भने कोहलपुर नगरपालिकामा अस्थिर छ । नगरपालिकामा कर्मचारीका प्रमुख नै लामो समय नटिक्ने रोग नै छ । विगत चार वर्षको अवधिमा नौजना प्रमुख प्रशासकीय अधिृकत फेरिएका छन् ।
शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपाली हुँदा ‘क्रेटा कार’ प्रकरणले खुब चर्चा पायो । एकातिर कोभिड–१९ (कोरोना भाइरस) को कहर, अर्कातिर कर्मचारीलाई लाखौँ मूल्यको सुविधा सम्पन्न कार खरिद गरेको भन्दै स्थानीयस्तरबाट आलोचना भयो । जबकी कोहलपुरमा आफ्नो एम्बुलेन्स थिएन÷छैन । भाडामा चलाइरहेको थियो ।
यो प्रकरणमा प्रत्यक्षरुपमा नगर प्रमुख लुटबहादुर रावत मुछिए । यस विषयमा आफू अनविज्ञ भएको भन्दै रावतले गुनासो गरेका थिए, ‘मैले एम्बुलेन्स खरिद गर्न भनेको थिएँ । उहाँले कार खरिद गर्नु भएछ ।
नगरपालिकामा कार आउँदासम्म मलाई थाहा थिएन । मेयर साब ! कार ल्याइएको छ भन्नुभयो ।’ कर्मचारीको ढिलासुस्तीदेखि नगर प्रहरीका ज्यादतीसम्मका काण्डमा नगर प्रमुख कर्मचारी तन्त्र सभ्य नभएको गुनासो गरिहरन्छन् । कार खरिदका विषयमा कर्मचारीहरु समेत एकमत देखिएनन् । अन्ततः उनको जिल्ला समन्वय समिति जाजरकोटमा सरुवा भयो ।
यस्तै गत असोजमा औषधि खरिदको विषयमा विवाद हुँदा कोहलपुर नगर स्वास्थ्य शाखाका तत्कालीन निमित्त प्रमुख अनिल सेन ठकुरीले कोरोना फोकल पर्सन गेहराज खनाललाई कुटेका थिए । एकपटक कोहलपुरका स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीबीच राजनीतिक आस्थाका आधारमा हात हालाहाल भएको विषयमा सतहमा आएको थियो ।
यतिमात्रै होइन कोहलपुरमा कर्मचारीहरु कामभन्दा बढी राजनीति गर्छन् भन्ने गुनासो जनप्रतिनिधिको छ । स्थायी सरकार भनिने कर्मचारीतन्त्र भने कोहलपुर नगरपालिकामा अस्थिर छ । नगरपालिकामा कर्मचारीका प्रमुख नै लामो समय नटिक्ने रोग नै छ ।
विगत चार वर्षको अवधिमा नौजना प्रमुख प्रशासकीय अधिृकत फेरिएका छन् । पुस १२ गतेदेखि कोहलपुरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा टीकाराम ढकाल हाजिर भएका छन् । उनी कोहलपुरमा हाजिर भएको भोलिपल्ट नगरपालिकास्थित शाखा प्रमुखसँग बैठक बसेर दर्जनौं निर्णयसहित निर्देशन र परिपत्र सार्वजनिक गरेका छन् ।
कार्यकालको सुरुवात मै उनले कर्मचारी तन्त्र सुधार गर्ने संकेत देखाएका छन् । उक्त बैठकले कर्मचारीको बिदा, खरिद योजना व्यवस्थापन, बिल भरपाइ तथा लागत अनुमान, काज र भ्रमण स्वीकृति सम्बन्धमा कर्मचारीले पालना गर्नुपर्ने विषयमा कडा निर्देशन जारी गरिएको छ । उनले नगरपालिकामा कर्मचारीहरुको चेन अफ कमाण्डलाई व्यवहारमा लागू गर्न खोजेको देखिन्छ । कर्मचारी मात्रै होइन जनप्रतिनिधिसँग समेत उनको सहकार्य र समन्वय कस्तो हुनेछ भन्ने कुरा उनका भोलिका कामले देखाउनै छ ।
उक्त निर्देशनमा कर्मचारीले बिदा माग्दा सेवा सर्तअनुसार पाउने लिखितरुपमा स्वकृति माग्नुपर्ने र ठाडो निवेदनमा बिदा नमाग्ने, शाखामा कार्यरत कर्मचारीले शाखा प्रमुखबाट बढीमा एक साता बिदा स्वीकृत गराउने सक्ने र प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराउने, वडा कार्यालयका कर्मचारीले सात दिनसम्म बिदा बस्न सक्ने, सम्पूर्ण कर्मचारीको एक दिनसम्मको बिदा मौखिकरुपमा लिन सकिने र बिदा लिखितरुपमा उल्लेख गरिनुपर्ने निर्णय र निर्देशन जारी गरिएको छ ।
यस्तै स्थानीय तहका कर्मचारीहरुको काज र भ्रमणमा समेत कडाइ गरिएको छ । जुनसुकै कर्मचारीले कार्यालयको काममा काजमा खटिँदाको प्रयोजन, अनुमानित खर्च, विनियोजित बजेट र सम्बन्धित शाखाका प्रमुख र प्रशासकीय अधिकृतको स्वीकृति लिनुपर्ने भनिएको छ ।
चार वर्षमा नौ ‘हाकिम’ फेरिए
सधैं विवादमा आइरहने कोहलपुर नगरपालिकामा कर्मचारीतन्त्र स्थिर छैन । स्थायी सरकारसमेत भनिने कर्मचारीको सरुवामा यहाँको विकासमा समेत प्रभाव पारेको छ । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको भूमिका महŒवपूर्ण मानिन्छ । तर, कोहलपुर नगरपालिकामा विगत साढे चार वर्षको अवधिमा नौजना प्रमुख फेरिएका छन् ।
गत साउन महिनामा कोहलपुरमा आएका टोपेन्द्रबहादुर केसी जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा भएपछि टीकाराम ढकाल सरुवा भएर आएका हुन् । केसीले जम्मा पाँच महिना कोहलपुरको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरे ।
केसीभन्दा अघि छविलाल नेपाली प्रमुख प्रशासकीय अधिृकत थिए । उनले कोहलपुरमा २०७७ साउन ३० देखि २०७८ असार ८ गतेसम्म प्रमुख प्रशासकीय अधिृकत भएर काम गरे । उनको सरुवा भएपछि तत्कालीन शिक्षा शाखाका प्रमुख रहेका अनन्तकुमार पौड्यालले निमित्त, प्रमुख प्रशासकीय अधिकृतका रुपमा असार ९ देखि असार ३१ गतेसम्म कार्यभार सम्हालेका थिए ।
नेपालीभन्दा अघि प्रमुख प्रशासकीय अधिकृतका रुपमा वीरेन्द्रदेव भारतीले २०७६ भदौ २३ देखि २०७७ साउन ७ गतेसम्म काम गरे । यसैगरी २०७५ चैत्र २४ गतेदेखि २०७६ भदौ २३ गतेसम्म दशरथ बुढाले कोहलपुरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गरेका थिए । यस्तै प्रेमप्रसाद देवकोटा, बालराम शर्मा र माधवप्रसाद शर्माले समेत कोहलपुरका हाकिमका रुपमा आएका थिए ।









प्रतिक्रिया दिनुहोस्