सीके राउतले सिरहाका एसपी पाण्डेलाई दिए जनकारबाही गर्ने धम्की



जनमत पार्टीका प्रमुख सीके राउतले सिरहाका प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएका छन्।

सीके राउतको सचिवालयले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् सिरहाका प्रहरी उपरीक्षक पाण्डेलाई जनकारबाही गर्ने धम्की दिएको हो।

जनमत पार्टीले सिरहामा आम हड्ताल घोषणा गरेपछि स्थानीय प्रशासनले आज र भोली जिल्लामा निषेधाज्ञा जारी गरेको छ।

गिरफ्तार गरिएका आफ्ना कार्यकर्तालाई प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै राउतको सचिवालयले एसपी पाण्डेलाई सिरहा बजारको बीच चोकमा जनकारबाही गर्ने धम्की दिएको हो।

‘गिरफ्तार गरिएका आन्दोलनकारीसँग दुर्व्यवहार भइराखेको, जाडोमा कपडासमेत उपलब्ध नगराएको, लगाएको ज्याकेट पनि खोल्न लगाएको, परिवार र वकीलसँग सम्पर्क गर्न नदिएको र प्राथमिक उपचार समेत गर्न नदिएको समाचार आएको छ,’ सीके राउतको सचिवालयको फेसबुक फेजमा लेखिएको छ।

राउतले हिरासतमा रहेका आन्दोलनकारीसँगको व्यवहार सुधार्न भन्दै एसपी पाण्डेलाई चेतावनीसमेत दिएका छन्।

‘यदि २४ घण्टाभित्र हिरासतमा रहेका आन्दोलनकारीसँग व्यवहार र सुविधामा सुधार भएन भने कारबाही गर्न जनतालाई पनि आउँछ। सिरहा बजारको बीच चोकमा जनकारबाही हुन्छ,’ राउतको सचिवालयको फेसबुक पेजमा लेखिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७८ पुस १३ गते मंगलबार