नेकपा एमाले बाँके ८औँ जिल्ला अधिवेशनको तयारीमा जुटेको छ । पुस २३ गते तोकिएको जिल्ला अधिवेशनको पूर्वतयारी तिव्र पारिएको जिल्ला कमिटी बाँकेले जनाएको छ । अधिवेशनको पूर्वतयारीअन्तर्गत शुक्रबार बसेको पार्टीको १९औँ पूर्ण बैठकले विभिन्न निर्णयसहित उपसमिति गठन गरिएको छ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सूर्य ढकालले अधिवेशनमा अहिलेको जिल्ला कमिटीका चार सय ९६ सदस्यलाई पदेन सदस्यका रुपमा सहभागी गराउने निर्णय भएको बताए । यस्तै जिल्लाका ८१ वटै वडाबाट सम्पूर्ण समुदायको समान सहभागिता हुने गरी निर्णय भएको उनले जानकारी दिए ।
बाँकेमा रहेको पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला कमिटीका सदस्यहरु जनता कै घरमा बसोबास गर्नेगरि परिचालन गर्ने, १७ गते जिल्ला अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरुको छनोट गर्ने, १४ र १५ गतेभित्र पार्टीका २२ वटा जनवर्गीय संगठनको बैठक बस्ने निर्णय भएको छ ।
इन्चार्ज ढकालका अनुसार अधिवेशनको तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ । बैठकमार्फत जिल्ला अध्यक्ष निरक गुरुङको संयोजकत्वमा पाँच सदस्यीय प्रतिवेदन लेखन समिति गठन गरिएको छ ।
यस्तै भास्कर काफ्लेको संयोजकत्वमा ११ सदस्यीय खाद्य व्यवस्थापन उपसमिति गठन भएको छ । नेकपा एमालेका अनुसार मिनबहादुर मल्लको संयोजकत्वमा मञ्च व्यवस्थापन, खेमराज शर्माको संयोजकत्वमा स्वयम्सेवक परिचालन र बिम्ली रानी पन्थीको संयोजकत्वमा अतिथि सत्कार उपसमिति गरिएको छ ।
‘पार्टीको जिल्ला अधिवेशन सम्पन्न गर्न सिंगो पार्टीका नेता कार्यकर्ता परिचालन गरिने भएको छ । यो अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्छ । नयाँ नेतृत्व सर्वसहमतिमा चयन हुनेछ,’ उनले भने ।
जिल्ला अध्यक्ष निरक गुरुङको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका प्रदेश सहइन्चार्ज लक्ष्मण ज्ञवाली, जिल्ला इन्चार्ज सूर्य ढकाल, केन्द्रीय सदस्य मोहम्मद हारुन, शान्ति ढकाल, दीपा शर्मा, पशुपतिदयाल मिश्रा, लेखा आयोगका सदस्य विजया धिताललगायतको सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्