अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिजोले (माडमुड) को नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आरोप लगाएका छन् ।
बिहीबार समाजवादी प्रेस संगठन बाँके शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले एमसीसीलाई आफ्नो कार्यकालमा ओलीले संसद्मा ल्याएर गम्भीर भुल गरेको बताए ।
‘एमसीसी संसद्मा प्रवेश गराउने विषय नै थिएन । उनले आफ्ना अर्थमन्त्रीलाई ल्याउन लगाए । रणनीतिक अंग भनेर पराराष्ट्रमन्त्री सक्रिय भए,’ उनले भने । एमसीसी मात्रै नभइ देशमा अस्थिरता निम्त्याउने, सबै बिगार्ने, भत्काउने र देशलाई अप्ठ्यारोमा पार्ने ओली भएको नेपालको दाबी छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले नेकपा एमालेले अहिले संसद्मा तमासा देखाइरहेको पनि उल्लेख गरे । सत्ता र शक्तिविहीन भएपछि ओलीले जनताको सार्वभौम थलोलाई गलत ढंगले नाराबाजी र अवरोध गर्ने थलो भएको उनको टिप्पणी छ ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेको ओलीको कडा आलोचना गर्दै नेपालले भने, ‘उनी गणतान्त्रिक संसद्को विरुद्धमा छ । गणतन्त्र र संघीयता पचेको छैन ।’
सत्ता गठबन्धनमा एमसीसीमा दुईमत देखिएको छ नी भन्ने सञ्चारकर्मीहरु प्रश्नमा उनले अहिले तीन सदस्यीय कार्यदल बनेको भन्दै देश र जनताको हितविपरीत कुनै पनि काम नहुने स्पष्ट पारे । जनताको हित, राष्ट्रिय हितविपरीत र स्वाभिमान गिर्ने काममा आफूहरुले नलाग्ने पनि उनले बताएका छन् । न्यायलयमा देखिएको समस्याको पनि उचित समाधान हुनुपर्ने उनको धारणा छ ।
फरक प्रसंगमा उनले नेकपा एमाले भन्ने पार्टीमा कम्युनिस्ट आन्दोलनबाट विमुख भइरहेको माक्र्सवादको सिद्धान्त आत्मसाथ नगरेर व्यक्तिवाद हाबी भइरहेको बताए । नेपालको कम्युनिस्ट आन्दोलनको रक्षाको लागि आफूले विद्रोह गरेको उनको भनाइ छ ।
अहिले आफूहरुको पक्षमा जनलहर आएको उनको दाबी छ । पार्टीले राष्ट्रिय प्रशिक्षण अभियान सञ्चालन गरिरहेको भन्दै जनता परिवर्तनको पक्षमा देखिएको अध्यक्ष नेपालले जानकारी दिए ।
धितालले त्यागे एमाले
नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धितालले पार्टी परित्याग गरेका छन् । केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमाले दक्षिणपन्थी अवसरवादको भासमा डुबेको, पार्टीको मुल सिद्धान्तलाई परित्याग गरी व्यक्तिवादी चिन्तनले ग्रसित भएकोले एमालेको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
एमाले परित्याग गरेर धिताल नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । उनलाई कोहलपुरमा एक कार्यक्रमका बीच अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे । उपसचिव धिताललाई स्वागत गर्दै अध्यक्ष नेपालले धितालले बाँकेमा अर्को विद्रोह रोजेको बताए ।
उनका अनुसार देशभर समाजवादीलाई रोज्नेहरुको संख्या बढिरहेको छ । एमाले परित्याग गरेका धिताल २०४१ सालदेखि अनेरास्वयियुको माध्यमिक विद्यालय प्रारम्भिक कमिटी हुँदै विभिन्न कमटीमा सचिव र अध्यक्ष भइसकेका छन् । २०५३ सालमा महेन्द्र बहुमुखी क्याम्पस स्ववियू सभापति बनेका उनी २०६६ मा पार्टीको जिल्ला सदस्य र २०७१ मा उपसचिव निर्वाचित भएका थिए ।
एक प्रेस वक्तव्य जारी गर्दै नेता धितालले एमालेमा रहेका कार्यकर्ताहरुलाई समाजको अग्रपंतिका निम्ति पार्टीमा विद्रोह गरी नेकपा एसमा आबद्ध हुनसमेत आह्वान गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्