केन्द्रीय महाधिवेशनपछि पनि जिल्लामा अधिवेशनको सुरसार नहुँदा कार्यकर्तामा निराशापन छाएको छ । नेतृत्व गम्भीररुपमा नलाग्दा जिल्ला अधिवेशन अन्योल देखिएको । जिल्लामा हुनै लागेको निर्वाचन स्थगित हुँदा चुनावको तयारी गरिरहेका उम्मेदवार पनि यतिखेर अलमलमा परेका छन् ।
आन्तरिक विवादपश्चात् नेपाली कांग्रेसको जिल्ला अधिवेशन प्रदेश अधिवेशनसँग जुध्ने भन्दै अर्काे निर्णय नहुँदासम्मका लागि स¥यो । मंसिर १५ गते निर्वाचनको अन्तिम तयारीमा रहेको बाँकेमा एक दिन अगाबैअर्थात १४ गते जिल्ला अधिवेशन स्थगित भएको थियो ।
प्रदेश अधिवेशनपछि जिल्ला अधिवेशन गर्ने सामान्य प्रतिक्रिया दिएको कांग्रेसले केन्द्रीय महाधिवेशनपछि पनि जिल्ला अधिवेशनको तयारी गरेको देखिँदैन ।
केन्द्रीय महाधिवेशनपछि पनि जिल्लामा अधिवेशनको सुरसार नहुँदा कार्यकर्तामा निराशापन छाएको छ । नेतृत्व गम्भीररुपमा नलाग्दा जिल्ला अधिवेशन अन्योल देखिएको छ । जिल्लामा हुनै लागेको निर्वाचन स्थगित हुँदा चुनावको तयारी गरिरहेका उम्मेदवार पनि यतिखेर अलमलमा परेका छन् । केन्द्रीय निर्णयअनुसार जिल्ला अधिवेशन पछाडि धकेलिएकाले केन्द्रीय निर्णयकै प्रतिक्षामा नेताहरु छन् ।
मुखैमा आएको निर्वाचनलाई केन्द्रीय निर्णयअनुसार सारिएको नेपाली कांग्रेस बाँकेकी सभापती किरण कोइरालाले बताइन् । ‘हामी निर्वाचनको अन्तिम तयारीमा थियौं,’ उनले भनिन्, ‘प्रदेश अधिवेशनसँग जुध्ने भन्दै पछाडि धकेलिएको थियो ।’
केन्द्रीय निर्णय नहुँदासम्म जिल्लामा अधिवेशन अन्योल हुने उनको भनाइ छ । नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन अझै नसकिएकाले पनि जिल्ला अधिवेशनको निर्णय तोक्न केन्द्रलाई समस्या भएको उनले जनाइन् ।
जिल्लामा अधिवेशन सार्नेखालकै विवाद नभए पनि संस्थापन पक्षको दबाबका कारण जिल्ला अधिवेशन पछाडि धकेलिएको संस्थापनइतर पक्षले आरोप लगाएको छ भने, संस्थापन पक्षले प्रदेशसँग जिल्ला अधिवेशन जुध्दा समस्या हुने प्रतिक्रिया दिएको छ ।
को–को छन् आकांक्षी
नेपाली कांग्रेस बाँकेको जिल्ला निर्वाचनका लागि संस्थापन र संस्थापनइतर पक्षबीच प्रतिस्पर्धा देखिएको थियो । संस्थापन पक्षबाट लुम्बिनी प्रदेशका वनमन्त्रीसमेत रहेका कांग्रेस नेता सुरेन्द्र हमाल, पूर्वसभासद बादशाह कुर्मी, निरन्जनसिंह सिँजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाह आकांक्षी छन् ।
संस्थापनइतर पक्षबाट भने नारायणप्रसाद गौडेलको उम्मेदवारी निश्चित भइसकेको छ । गौडेलले आफ्नो प्रचारसमेत सुरु गरिसकेका थिए । निर्वाचन स्थगित हुनुलाई संस्थापनइतर पक्षले चुनावी षड्यन्त्रका रुपमा व्याख्या गरेको छ, भने संस्थापन पक्षले स्थगित हुनुलाई स्वभाविक भएको प्रतिक्रिया दिएको छ ।
‘पुस अन्तिमसम्म हुन्छ’
समयमै जिल्ला अधिवेशन हुन नसकेका जिल्लाहरुको अधिवेशन पुस अन्तिमसम्म गर्ने तयारी भइरहेको लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री तथा बाँकेको जिल्ला सभापतीका आकांक्षी सुरेन्द्र हमालले बताए ।
विशेष परिस्थितिले जिल्ला अधिवेशन सरेको भन्दै उनले भने, ‘अहिलेनै केन्द्रको मतगणना सकिएको छैन । गणना हुँदैछ । सकिएपछि तयार हुन्छ ।’ केन्द्रीय निर्वाचन समिति चुनावमै व्यस्त भएकाले केही दिनपछि मिति तोकिने उनको भनाइ छ ।
जिल्लामा कार्यकर्ताहरु कसैलाई जिताउन र हराउनभन्दा पनि मूली चयन गर्न हतारिएको उनी बताउँछन् । केन्द्रीय मतगणना सकिनासाथ जिल्ला अधिवेशनको बाटो खोल्नुपर्ने उनी बताउँछन् ।
सभापति कोइराला पराजित
नेपाली कांग्रेस १४औँ महाधिवेशनको खुला महिला केन्द्रीय सदस्यमा बाँकेकी जिल्ला सभापति किरण कोइराला पराजित भएकी छिन् । नौजना निर्वाचित हुने खुला महिला केन्द्रीय सदस्यका लागि ३० जनाले उम्मेदवारी दिएका थिए ।
बाँके सभापति कोइराला १३औँ स्थानमै सीमित रहिन् । कोइरालाले एक हजार पाँच सय ६८ मत प्राप्त गरेकी थिइन् । डा. डिला संग्रौला सर्वाधिक मतका साथ केन्द्रीय सदस्य निर्वाचित भएकी छिन् । यस्तै दोस्रोमा पुष्पा भुसाल र तेस्रोमा आरजु राणा देउवा छन् ।
त्यसैगरि क्रमशः अम्बिका बस्नेत, इश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमती शाही शीर्ष ९ मा पर्दै विजयी भएका छन् ।










प्रतिक्रिया दिनुहोस्