21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बाँकेका उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८  

नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्।

विभिन्न सञ्चार माध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले मन्त्री नियुक्त भएको तेस्रो दिनमै पदबाट राजीनामा दिएका हुन्।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, म लामो समयदेखि कांग्रेसको विभिन्न पदमा सक्रिया रही बाँके जिल्लाको पार्टी सभापति समेत भएर काम गरेकाले पार्टीले सोही अनुसार मूल्यांकन गरेर मन्त्री पदमा नियुक्ति गरेको मैले ठानेको छु’, हमालले राजीनामा पत्रमा भनेका छन्, ‘हाल विभिन्न सञ्चार माध्ययममा संप्रेशित समाचार तथा कानुनविद्हरुले मेरो नियुक्तिलाई अन्यायपूर्वक अन्यत्र जोडी समाचार संप्रेशित गरेको र यस्ता समाचारले आफ्नो वर्षोसम्म लोकतन्त्र, विधिको शाशन तथा राज्यका निकायबीच शक्ति पृथकिकरणको सिद्धान्तको लागि लडेको लडाईको समेत अवमुल्ययन भएको बोध भएको छ। तर पनि मेरो नियुक्तिको विषयलाई लिएर प्रश्न उठेबाट म पदभन्दा व्यवस्थाका लागि लडेको व्यक्ति भएकाले यस्तो आशंकाकैबीच मन्त्रीपदमा बसिरहन उपयुक्त नलागेकाले मन्त्री पदबाट राजिनामा दिएको छु।’

हमालले दिएको राजीनामा प्रधानमन्त्री देउवाले आइतबार बिहान स्वीकृत गरिसकेका छन्। यद्यपी हमाल लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशिल छन्। उनी २०२७ सालदेखि कांग्रेसको विभिन्न पदहरुमा बसेर काम गरिसकेका छन्।

प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८     11:01:56 AM  |