दसैं खर्च जोहो गर्न तराई झरे राउटे: कोहलपुरका मेयरलाई राउटे अगुवाको अंगालो !



शुभाकर विश्वकर्मा । कोहलपुर ।

जंगलमा फिरन्ते जीवन बिताइरहेको छ, राउटे समुदाय । लोपोन्मुख राउटे समुदाय सिकार र कन्दमूलको भरमा जीवन धान्दै आएको छ । मुख्यतः कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रमा बसोबास गर्दै आएका राउटे विस्तारै सहर केन्द्रित हुँदैछन् ।

उनीहरूको रहनसहन, जीवनशैली र बानी व्यहोरामा समेत परिवर्तन हुँदै गएको छ । ‘जंगलका राजा’ समेत भनिने राउटे समुदायका मानिस कुनै बेला पैसा छुदाँ पाप लाग्छ भन्ने मान्यता राख्थे ।

अन्य मानिसहरूसँग दोहोरो संवादसमेत गर्दैन दिए । पछिल्लो समय यो समुदाय सामाजिकीकरण तर्फ उन्मुख भइरहेको छ । यसैबीच, कर्णाली प्रदेशको सल्यानमा बसोबास गर्दै आएका राउटे मुखिया बुधबार बाँकेको कोहलपुर नगरपालिकामा भेटिए ।

अघिल्लो दिन सल्यान, सुर्खेत हुँदै गाडीमा तराई ‐बाँके) झरेका थिए । दुईवटै प्रदेशका पहाडि जिल्लामा बसोबास गर्दै आएका राउटे एक्कासी तराई झरेका छन् । उनीहरू बाँके पुग्नुको मूख्य कारण, दसैं खर्च जोहो गर्नु हो ।

राउटे मुखिया भद्रबहादुर शाही र सुरेन्द्र शाही दसैं, तिहारका लागि खर्च जोहो गर्न आएका हुन् । बाँके झरेसँगै पहिलोपटक उनीहरूले कोहलपुर नगरपालिकाका प्रमुख लूटबहादुर रावतलाई भेटे । उनीहरू बुधबार बिहान ११ बजे कोहलपुर नगरपालिकामा पुगेका थिए ।

कर्मचारीको सहयोगमा प्रमुख रावतलाई भेट्ने अवसर समेत पाए । रावतलाई भेट्न आधा घण्टा कुरेका उनीहरू निकै हतारमा देखिन्थे । प्रमुखको कार्यकक्ष बाहिर कुरिरहेका अन्य मानिससँग निकै गफिएका थिए, उनीहरू । त्यतिबेला मिसन टुडे दैनिकसँग कुराकानी गर्दै मुखिया शाहीले भने, ‘हामी सल्यानबाट आएका हौं । मेयरलाई भेट्ने हो, काम छ ।

कहाँ हुनुहुन्छ मेयर ।’ सल्यानबाट कोहलपुर किन आउनु भएको हो ? भन्ने प्रश्नमा मुखिया शाहीले दशैका खर्च जोहो गर्न आएको जानकारी दिए । उनीहरूको पखाईको समय सकियो, राउटे मुखियाको भेट्ने समय आयो ।

उनीहरूले प्रमुख रावतलाई दुई हात जोडेर नमस्कार भन्दै अभिवादन गरे । प्रमुख रावतले उठेर नमस्कार फर्काए । लगत्तै नगर प्रमुख रावतले उनीहरूको हाल खबर सोधे, राउटे मुखियाले हाँस्दै जवाफ फर्काए, ‘हामी सन्चै छौं । ठिकै छ ।’ फेरि रावत प्रश्न गर्छन्, के कारणले आउनु भयो, खास काम के हो ? सुरुमा अलि लजाउँछन् । ‘एउटा कुरा भुन्नु छियो, भुनम् कि नभनम्, मेयर साप ! जी । भनम् भनिसकेपछि अलि लाज लाग्छ क्यारे,’ उनले भने, ‘दसैं खर्च चाहियो, गाह्रो भयो, एउटा खसी मार्नुप¥यो ।’

आफूहरू दसैंको लागि खर्च जोहो गर्न सल्यानबाट आएको भन्दै सहयोगको याचना उनले गरे । उनीहरूको सल्यानस्थित झुप्रोखोलामा बसोबास गर्दै आएका रहेछन् । त्यहाँ अहिले ६० जनाको संख्या रहेको छ ।

भद्रबहादुर र सुरेन्द्र भने खर्चको लागि बाँके आइपुगेका हुन् । कोहलपुर नगरपालिका प्रमुख रावत र राउटे मुखिया शाहीबीच करिब १० मिनेट भेटघाट भएको थियो । त्यही बीचमा कोहलपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक डिलबहादुर परियार आइपुगे ।

नगर प्रमुखलाई भेट्न नेपाल टेलिभिजनको टोली र पत्रकार विष्णु बेल्बासे समेत आइपुगे । केही समय फोटो सेसन भयो । माहोल अलि रमाइलो भयो । नगर प्रमुख रावतले उनीहरूसँग फोटो खिच्ने इच्छा व्यक्त गरे ।

सोही क्रममा राउटे मुखिया शाहीले रावतलाई ‐काँधमा हात राखेर) अंगालो हाले । प्रमुख रावतसँग अंगालो हालेर फोटो खिचिरहदाँ राउटे मुखिया निकै खुसी देखिन्थे । त्यहाँ भएका सबैले फोटो खिचे । रावत र राउटे मुखियाको कुराकानी सकियो ।

दसैंको खर्च जोहो गर्न आएका उनीहरूलाई नगरपालिकाले रित्तो हात फर्काएन । आर्थिक समितिका संयोजक परियारले उनीहरूलाई नगरपालिकाको तर्फबाट १० हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

सहयोगकै लागि सल्यानबाट आएका उनीहरूलाई केही राहत होस भन्ने उद्देश्यले सहयोग गरिएको उनले जानकारी दिए । राउटे मुखियाले बाँकेका अन्य स्थानीय तहमा पनि सहयोगको लागि जाने जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ८ गते शुक्रबार