- ‘२०५४ मा राप्रपाबाट राजनीतिक जीवन शुरुवात गरेका यादव, नेपाली काँग्रेस हुँदै नेकपा एमालेमा दुई दशक बढी सक्रिय रहे । उनी २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट जानकी गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । स्वर्गीय यादवको अप्रत्याशित निधनले उनको परिवार, सिंगो गाउँपालिकालाई स्तब्ध
बनाएको छ ।’
शुभाकर विश्वकर्मा, कोहलपुर
बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादव शुक्रबार दिउँसोसम्म गाउँपालिकाको काममा व्यस्त थिए ।केहीँ वर्षयता मृगौला सम्बन्धी समस्या र ‘लो ब्लड प्रेसर’को समस्यासँग जुधिरहेका उनलाई शुक्रबार राती १२ बजेतिर एक्कासी अस्वस्थ भए । उनलाई उपचारको लागि नेपालगञ्जस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा लगियो । त्यहाँ केही समय उपचार भएपछि घर ल्याइयो । घर ल्याएको १५–२० मिनेट मै अध्यक्ष यादवलाई एक्कासी श्वासप्रस्वासमा समस्या देखियो । फेरि आत्तिदै नर्सिङ्ग होममा लगिएका उनी शनिबार विहान १ बजेतिर सधैका लागि अस्ताए ।
घर,परिवार र सिंगो गाउँपालिका उनको निधनपछि शोकमा छ । अध्यक्ष यादवको मृत्युको कल्पना नै नगरेको परिवार र गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी शनिबार विहानको गाउँपालिकाका अभिभावकको मृत्यु भएको अप्रत्याशित खबर सुनेर ‘नोस्टाल्जिक’ भए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना अध्यक्ष यादवको दुःखत निधनका कारण शोकमा डुबेको र स्तब्ध भएको बताउँछन् ।
‘लो ब्लड प्रेसर भएपछि राति १२ बजे अस्पताल लगिएको थियो ।अस्पतालले बाहिर लैजाने भनेर डिस्चार्ज गरेको रहेछ । ठिकै छ, शनिबार विहान लखनउ लिने भनेर आफन्तले घर ल्याएछन् ।’उनले भने,‘तर घर आएको १५–२० मिनेट मै अध्यक्ष ज्यूलाई झन अप्ठ्यारो भएपछि फेरि नर्सिङ्ग होममा लगे प्रश्चात दुःखद् निधन भयो ।’ १ घण्टाको समयभित्रै पहिला लो ब्लड प्रेसर हुनुका साथै पछि श्वासप्रस्वासमा समेत समस्यादेखिपछि अध्यक्ष यादवको मृत्यु भएको उनको भनाइ छ ।
शनिबार बिहान मात्रै लगनउ लैजाने तयारी थियो । प्रमुख प्रशासकीय अधिकृत रानाले गाउँपालिकाले जिम्मेवार र असल अभिभावक गुमाएको जानकारी दिए । उनी भन्छन्,‘ अध्यक्ष ज्यू खास्सै बिरामी हुुनुहुन्थेन । अलि पहिला उहाँलाई शरिरमा रगतको मात्रा कम भएर २ प्वाइन्ट ब्लड चढाएको हो । शरिरमा रगत ५ प्वाइन्ट थियो । पछि सात भएको थियो । लखनउ लैजाने तयारी थियो । तर हामीले निकै दुःखद् समाचार सुन्नुप¥यो ।’
स्वर्गीय यादवको शनिबार दिउँसो कोठारपुरमा अन्त्येष्टी गरिएको छ । पारिवारिक स्रोतका अनुसार यादवको कोठारपुरमा रहेको उनले नै भोगचलन गर्दै आएको खुल्ला चौरमा जग्गामा नेकपा एमालेको नेता, कार्यकर्ता, गाउँपालिकाका कर्मचारी तथा आफन्त र शुभचिन्तकको उपस्थितिमा अन्त्येष्टि गरिएको गाउँपालिकाले जनाएको छ । स्वर्गीय यादवको परिवारमा आमा, श्रीमती, २ छोरा र ३ जना छोरी छन् ।
२०५४ सालदेखि निरन्तर राजनीतिमा सक्रिय यादव निकै शालिन र भद्र र सहयोग व्यक्ति भएको नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य पदम धिताल बताउँछन् । उनका अनुसार यादव निकै दयालु स्वाभावका व्यक्तित्व थिए । अरुको दुःख देख्न नसक्ने उनी गरिब,दुःखी असहाय र आवाज विहीनहरुका आवाज नै थिए । यादवको निधनले बाँके जिल्लाको मधेशी समुदाय र कम्युनिष्ट आन्दोलनले क्षति व्यहोरेको धितालको भनाइ छ ।
६२ वर्षको उमेरमा निधन भएका यादव जानकी गाउँपालिकाको अध्यक्ष थिए । उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । सचिवालय सदस्य धितालका अनुसार यादवले राप्रपाबाट राजनीतिक जीवन शुरु गरेका थिए । २०५४ सालको स्थानीय तहको चुनावमा यादव राप्रपाको तर्फबाट तत्कालीन गनापुर गाउँ विकास समितिको उपाध्यक्षमा निर्वाचित भएका थिए । एक वर्षपछि नेपाली काँग्रेसमा प्रवेश गरेपछि उपाध्यक्ष रही रहे । त्यसपछि भने यादव नेकपा एमालेमा प्रवेश गरेको उनको भनाइ छ ।
एमालेमा प्रवेश गरेलगत्तै उनी गनापुर गा.वि.स.को एमालेको वडा हुँदै गाउँ कमिटीको अध्यक्ष भने । स्थानीय तह लागू भएपछि एमालेले उनलाई जानकी गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनायो । २०७४ मा गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि उनले चार वर्ष गाउँपालिकाको अध्यक्षका साथै पार्टी कमिटीमा रहेर सक्रिय जीवन बिताए । २०७७ मा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएका उनी नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटी सदस्य समेत थिए ।
धितालले नेकपा एमाले निकट भातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको केन्द्रीय सदस्य समेत रहेको जानकारी दिए । नेकपा (एकिकृत समाजबादी ) का नेता अशोक कोइरालाले यादवको निधनले बाँके जिल्लाको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोरेको बताएका छन् । यस्तै नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकाल निकै शालिन व्यक्तित्वका धनी यादवको अभावमा बाँके जिल्लाको कम्युनिष्ट आन्दोलनमा खड्किरहने बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्