कृष्ण ओली । नेपालगञ्ज ।
गत सोमवार राती करिब साढे १० बजेतिर नेपालगञ्जको त्रिभुवन चोकमा मोटरसाइकलले स्थानीय तीन वर्षीया बालिकालाई ठक्कर
दियो । मोटरसाइकलको ठक्करबाट नेपालगञ्ज उप–महानगरपालिका, ११ की बालिका अनावीया राईको मृत्यु भयो । गम्भीर घाइते भएकी उनको स्थानीय अस्पताल उपचारपछि भारतको लखनउ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
नेपालगञ्जको अति व्यस्त बजार त्रिभुवन चोकमा नै बालिका ठक्कर दिएर मोटरसाइकल भाग्यो । तिव्र गतीमा रहेर बालिकालाई ठक्कर दिएको उक्त मोटरसाइकलको प्रहरीले अहिलेसम्म पहिचानसम्म गर्न सकेको छैन । त्रिभुवन चोकमा जिल्ला प्रहरी कार्यालय बाँकेले २०७५ साउनमा क्लोज सर्किट टेलिभिजन (सीसीटिभी) क्यामेरा जडान गरेको थियो ।
सीसीटिभी क्यामेराको कभरेज एरियामा नै मोटरसाइकलले बालिकाको ज्यान लिएको हो । त्यहाँ जडान गरिएका सबै सीसीटिभी क्यामेरा बिग्रिएका कारण बिहीवारसम्म साँझसम्म प्रहरीले ठक्कर दिने मोटरसाइकल फेला पार्न सकेको थिएन । बालिकालाई ठक्कर दिएर भाग्ने मोटरसाइकलको खोजी कार्य तिव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । ‘त्रिभुवन चोकमा रहेका सीसीटिभी क्यामेराले राम्रोसँग काम नगर्दा समस्या भयो’ उनले भने, ‘त्यहाँ आसपासमा रहेका अन्य नीजि क्षेत्रले राखेका सीसीटिभी क्यामेरा हेरेर ठक्कर दिने मोटरसाइकल खोज्ने प्रयास गरिरहेका छौं ।’
उनका अनुसार रातको समय भएकाले समेत पसल बाहिर राखिएका सीसीटिभी क्यामेरामा समेत राम्रोसँग देखिएको छैन । २०७५ साउनमा नेपालगञ्ज नगरका मुख्य १६ ठाउँमा ५६ वटा सीसी क्यामेराहरु जडान गरिएको थियो । त्यतीबेला जडान गरिएका अधिकांश सीसी क्यामेराहरु बिग्रिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । सामान्य बिग्रिदा मर्मत नहुँदा क्यामेराहरु कामै नलाग्नेगरी बिग्रिएका हुन् । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीले बिग्रिएका सीसी क्यामेराहरु मर्मत काम चलिरहेको बताए ।
‘म आउँदा चोक चोकमा राखिएका अधिकांश क्यामेराहरु बिग्रिएका थिए । अहिले मर्मतको काम चलिरहेको छ’ उनले भने, ‘अहिलेसम्म ३२ वटा बढी सीसी क्यामेरा मर्मत गरेर सञ्चालन गरिसकेका छौं । अन्यहरु मर्मत हुने क्रममा रहेका छन् ।’ शहरका चोक चोकमा राखिएका सीसी क्यामेरा बिग्रिएपछि स्थानीयहरुले भने मर्मतमा ध्यान नदिएको भन्दै नेपालगञ्ज उप–महानगरपालिकाको चर्को विरोध गरेका छन् । ‘नेपालगञ्ज उप–महानगरपालिका भित्र लगाइएको सीसी क्यामेरा अपराध र दुर्घटना निम्तियाउनको लागि हो की रोक्नको लागि हो ?’
स्थानीय मेराज अहमद हिमालयले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । अर्का स्थानीय हेमन्तराज काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा लेख्छन्, ‘बिग्रेका सीसीटिभी अनि लाखौं खर्च गरी बनेका सोलार लाइट खोई कसले बनाउने रहेछ ।’ बजारमा राखिएका सीसीटिभी क्यामेरालाई देखाउँने हात्तिको दाँतको संज्ञा दिदै बिहीवार राती त्रिभुवन चोकमा स्थानीय विरोध प्रदर्शन गरेका थिए । सडकमा जम्मा भएका सयौं स्थानीयबासीहरुले तत्काल सीसीटिभी क्यामेराहरु मर्मत गर्न नत्र निकालेर लैजान नेपालगञ्ज उप–महानगरपालिकालाई दवाव दिए ।
जिम्मेवारीबाट भाग्दै उप–महानगरपालिका
नगरमा लगाइएका सीसीटिभी मर्मतमा आफ्नो भूमिका कुनै नभएको भन्दै नेपालगञ्ज उप–महानगरपालिका जिम्मेवारीबाट भाग्न खोजेको
छ । नगरबासीले नेपालगञ्ज उप–महानगरपालिकाको चर्को आलोचना गरेपछि शुक्रवार प्रवक्ता प्रमोद रिजालले एक विज्ञप्ती जारी गरेर सीसीटिभी मर्मतमा आफ्नो कुनै भूमिका नहुने बताएका हुन् । ‘घटनालाई गम्भीरतापूर्वक लिदैं दुर्घटनाका जिम्मेवार मोटरसाईकल चालकलाई पहिचान गरी पक्राउका लागि जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएको छ’ उनले विज्ञप्तीमा भनिएको छ, ‘यस दुःखद् घटनापछि घटनालाई अतिरञ्जित गरि उप–महानगरपालिकाका प्रमुख डाक्टर धवलशम्शेर राणा र उप–महानगरपालिकालाई जोडेर भईरहेका केही गतिविधिप्रति यस उप–महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
दुर्घटना गराउने मोटरसाईकलकका चालकको खोजी गर्ने क्रममा नजिकै रहेको सीसीटिभी बिग्रिएको विषयमा उप–महानगरपालिकालाई जोडेर बदनाम गर्ने र भ्रम छर्ने प्रयास गरिएको समेत बताइएको छ । नेपालगञ्जको शान्ति सुरक्षालाई मध्यनजर गर्दै नेपालगन्ज, उद्योग बाणिज्य संघ, जिल्ला प्रहरी कार्यालय लगायतका संघ संस्थाहरुको अनुरोधका आधारमा उप–महानगरपालिकाले सीसीटिभी जडानका लागि सहयोग गरेको भएपनि यसको सञ्चालन र ब्यवस्थापनका लागि छुट्टै समिति क्रियाशिल रहेको प्रवक्ता रिजालले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्