नेपालगञ्ज ।
लामो समयको प्रयासपछि नेपालगञ्ज–गुलरिया हुलाकी सडक खण्डलाई विस्तार गर्न थालिएको छ । यो खण्डको हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन सुरु गरिएको हो । पहिले चरणमा चार लेन बनाउने योजनाअनुसार खजुरा बजार क्षेत्रमा एक हजार ८०० मिटर र गुलरियाबाट भादा पुलसम्मको दुई किलोमिटर सडक विस्तार गर्न सुरु गरिएको छ ।
नेपालगञ्ज धम्बोझीबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजना रहेको सडक डिभिजन कार्यालय नेपालगञ्जका डिभिजन प्रमुख हुमबहादुर एसीले जानकारी दिए । चालू आर्थिक वर्षमा धम्बोझीबाट मैनापोखरसम्म चार लेन सडक विस्तारका लागि डिपिआर तयार भइसकेको उनले बताए । यो खण्डमा २० किलोमिटर चार लेन सडक निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भई कार्यान्वयनका लागि पहिलो चरणमा सडक विभागले रु १३ करोड बजेट छुट्याइसकेको छ ।
नेपालगञ्ज–गुलरिया हुलाकी सडकअन्तर्गत धम्बोझीबाट बढैयाताल गाउँपालिकाको मैनापोखरसम्म चार लेन सडक बनाउने निर्णय भएको हो । चारलेन सडक निर्माण योजना बहुवर्षीय रहेको छ । नेपालगञ्जबाट मैनापोखरसम्मको सडकखण्डमा चार लेनको लागि आवश्यक पूर्वाधार निर्माण प्रक्रिया सुरु गरिएको डिभिजन प्रमुख एसीले बताए ।
नेपालगञ्ज–गुलरिया सडकअन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रमा अहिले चारलेन सडक निर्माण भइरहेको छ । पहिलो चरणमा खजुरा गाउँपालिका–३ स्थित कपास विकास समितिबाट धनौलीसम्म सडक विस्तार गर्ने गरी काम सुरु भएको हो । सङ्घीय सरकारको रु ३४ करोडको बोलपत्रमा गजुरमुखी निर्माण सेवाले गत वर्षदेखि चार लेन सडक निर्माण सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्