नेपालगञ्ज ।
बाँकेमा आइतवार थप १४ जना कोरोनामुक्त भएका छन् । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका अनुसार ६ महिला र ८ पुरुष गरेर थप १४ जना कोरोना जितेर घर फर्किएका थिए । योसँगै बाँकेमा अहिलेसम्म कोरोना जितेर घर फर्किनेहरुको संख्या १७ हजार ४५० पुगेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिए । उनका अनुसार कोरोना जितेर घर फर्किनेहरुमा ७ हजार ४४५ महिला र १० हजार ५ जना पुरुष रहेका छन् ।
यसैबीच पछिल्लो २४ घण्टामा आइतवार बाँकेमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका दुई प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ जनामा संक्रमण पुष्टि भएको हो । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १ पुरुष तथा मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा २÷२ महिला र पुरुष गरि ४ जनामा कोरोना पुष्टि भएको थियो । प्रयोगशालामा ७२ वटा नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि हुँदा बाँकेमा ५ जना रहेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ८९९ पुगेको कोरोना फोकल पर्सन ओलीले जानकारी दिए । तीमध्ये ७ हजार ६ सय ४४ महिला र १० हजार २५५ पुरुष रहेका छन् । आइतवारसम्म बाँकेमा ८० महिला र ८६ पुरुष गरेर १ सय ६६ जना सक्रिय कोरोना संक्रमित रहेका थिए । तीमध्ये १५ जनाको भेरी अस्पताल र २ जनाको वेस्टर्न अस्पताल नेपालगञ्जमा उपचारमा भइरहेको फोकल पर्सन ओलीले
बताए । अन्य सक्रिय संक्रमित होम आइसोलेसनमा रहेका छन् ।
थप दुई संक्रमितको मृत्यु
नेपालगञ्जस्थित भेरी अस्पतालमा थप दुई कोरोना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको छ । सुर्खेत र दाङबाट रिफर भएर आएका संक्रमित मृत्यु भएको हो । सुर्खेत सिम्ता गाउँपालिका वडा नम्बर ३ का ७१ वर्षीय पुरुष र दाङ तुलसीपुर उप–महानगरपालिका वडा नम्बर ६ का ५५ वर्षीय पुरुषको मृत्यु भएको थियो ।
सिम्ताका ७१ वर्षीय पुरुषलाई भदौं १ गते पीसीआर गरेर त्यही दिन भेरीमा भर्ना गरिएको फोकल पर्सन ओलीले जानकारी दिए । उनको शनिवार राती उपचारकै क्रममा १२ः२० बजेको समयमा मृत्यु भएको थियो । तुलसीपुरका ५५ वर्षीय पुरुषको साउन २७ गते पीसीआर गरिएकोमा साउन २८ गते भेरीमा भर्ना गरिएको थियो । उनको आइतवार बिहान ५ बजे मृत्यु भएको हो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ३ सय ९३ संक्रमितको उपचारकै क्रममा मृत्यु भइसकेको छ । पछिल्ला केही दिनयता भेरीमा उपचारकै क्रममा २४ घण्टामा दुई संक्रमितको ज्यान गइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्