साउनी हत्या प्रकरण: प्रहरीले सकायो अनुसन्धान, आरोपित सार्वजनिक गरिदैं



कोहलपुर ।

ईलाका प्रहरी कार्यालय कोहलपुरले साउनी कार्की हत्याको अनुसन्धान लगभग सकाएको छ । कोहलपुर नगरपालिका वडा नम्बर, ११ शान्तिटोलमा रहेको घरमा गत साउन ३ गते बिहान हत्या गरिएको अवस्थामा साउनीको शव फेला परेको थियो ।

कोहलपुर प्रहरीले करिब एक महिना सुक्ष्म रुपमा अनुसन्धान अगाडि बढाएर गरेर हत्याका आरोपित पत्ता लगाएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रबिन्द्र खनालले हत्याको अनुसन्धान सकिएको बताए ।

हत्या गरिएकी साउनी कार्की र घटनास्थलमा देखिएको भिड । तस्बिर : डिल्ली शाही

‘घटनाको जानकारी पाएलगत्तै हामीले गहिरो रुपमा अनुसन्धान थालेका थियौं’ उनले मिसन टुडेसँग भने, ‘हाम्रो अनुसन्धानमा आरोपितले हत्या गरेको बयान दिइसकेका छन् । अब हाम्रो अनुसन्धान लगभग सकियो भन्दापनि हुन्छ ।’

गम्भीर प्रकृतीको यो हत्याको अनुसन्धानको लागि कोहलपुर प्रहरीलाई जिल्ला प्रहरी कार्यालय बाँके, लुम्बिनी प्रदेश कार्यालय दाङ र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत सहयोग गरेका थिए । कोहलपुर प्रहरीले समेत डिएसपी खनालको नेतृत्वमा परिचालन हुनेगरी छुट्टा छुट्टै प्रहरी टोलि अनुसन्धानको लागि परिचालन गरेको थियो ।

यो घटनाको अनुसन्धानको लागि सादा पोशाकमा महिला प्रहरीलाई समेत परिचालन गर्नुपरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।

हत्या भएको रातीदेखि भारी वर्षा भएकाले प्रहरीलाई सुरुका चरणमा अनुसन्धानमा समस्या भएको थियो । क्राइस सिनमा समेत हत्या भएको बाहेक अन्य कुनै प्रमाण फेला नपर्नुले समेत प्रहरीलाई समेत थपिएको थियो ।

हत्यास्थलमा तालिमप्राप्त प्रहरीको कुकुर परिचालन गरिएपनि भारी वर्षा भइरहेकोले कुनै सूचना दिन सकेको थिएन । सबै अनुसन्धान सकिएकाले सकेसम्म आजै सोमवार नभए भोलिसम्म घटनाबारे थप अनुसन्धान सार्वजनिक गरिने ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

‘हत्याबारे सकेसम्म सोमवार नै पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौं’ एक प्रहरी अधिकृतले भने, ‘हत्याका आरोपित समेत पत्रकार सम्मेलनमा सार्वजनिक हुन्छन् ।’

प्रकाशित मिति : २०७८ भदौ ७ गते सोमबार