देशभर थपिने भन्दा निको धेरै



कोहलपुर ।

देशभर पछिल्लो २४ घण्टामा शनिवार थप २ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ७०३ पीसीआर परीक्षणमा १ हजार ४२४ र ५ हजार ३७२ एन्टिजेन परीक्षणमा ६५१ जना गरी २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको थियो । शनिवार थपिएका संख्यासँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ३८२ जना संक्रमणमुक्त भएका थिए । योसँगै हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९५ हजार ९२५ रहेको छ । यो अवधिमा देशभर उपचारकै क्रममा थप ३० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण १० हजार ४८५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६६७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार काठमाडौंमा ४८३, ललितपुरमा १०३ र भक्तपुरमा ८१ जना संक्रमित भेटिएका थिए । त्यस्तै झापामा १३२, कास्कीमा ९१, सुनसरीमा ६४, मोरङमा ६२, सुर्खेतमा ६१ र चितवनमा ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

रुपन्देहीमा २९, कास्कीमा २५, चितवनमा २३, नवलपरासी पूर्वमा १९, दाङमा १८, कैलालीमा १५ जना संक्रमित भेटिएका थिए । शनिवारसम्म देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको थियो । जसमध्ये ३६ हजार १५ जना होम आइसोलेसन र ३,३०६ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ भदौ ६ गते आइतबार