शिवु खनाल । दाङ ।
देउखुरी क्षेत्रमा हुने अवैध काठ ओसारपसार र चोरी तस्करी नियन्त्रण गर्न डिभिजन वन कार्यालय देउखुरी लमहीले गस्ती बढाएको छ । विभिन्न सामुदायिक वन क्षेत्रमा हुनसक्ने चोरी तस्करीलाई मध्यनजर गरेर गस्ती बढाइएको डिभिजन वन कार्यालय देउखुरी लमहीका प्रमुख बेसिन्द्रराज सुबेदीले जानकारी दिए ।
चोरी निकासी रोक्नका लागि युद्धस्तरमा गएर सामुदायिक वन समूहमा वन रक्षकहरुले गस्ती गरिररहेका छन् । देउखुरीका विभिन्न सामुदायिक वनहरुमा अवैध चोरी तस्करी बढ्न थालेपछि गस्ती कार्यलाई थप कडाई गरिएको सुबेदी बताउँछन् । बाहिर जिल्लाबाट र जिल्लाभित्रका मानिसले लुकीछिपी अवैध रुपमा काठ चोरी गर्ने भएकाले रोक्नका लागि गस्ती कार्यलाई थप कडाइ गरिएको डिभिजन वन कार्यालय देउखुरीले जनाएको छ । देउखुरी क्षेत्रमा एकसय ४८ वटा सामुदायिक वन समूहहरु रहेका छन् ।
थप दुई पक्राउ
अवैध रुपमा विभिन्न जातका काठ ओसारपसार गर्दागर्दै देउखुरीबाट डिभिजन वन कार्यालय देउखुरी लमहीले दुई जनालाई पक्राउ गरेको
छ । काठ ओसार पसार गरिरहेको भन्ने सूचनाको आधारमा खटिएको गस्ती टोलिले चेकजाँच गर्ने क्रममा लमही नगरपालिका वडा नम्बर ८ गिधनियाबाट रा १ त ४२९८ नम्बरको ट्रेक्टरमा सिमल जातको ५६.४२ क्युफिट गोलिया काठसहित घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नी निवासी ३६ वर्षिय चालक खुसिराम चौधरी पक्राउ परेका हुन् ।
डिभिजन वन कार्यालय देउखुरी लमहीका सूचना अधिकृत प्रेमीलाल प्रसाद शाहले रा १ त ४२९८ नम्बरको ट्रेक्टरमा विभिन्नसाईजको टाँचा निशानी नलागेको अवैध सिमल जातको ५६.४२ क्युफिट काठ बरामद गरेको अनुसन्धान भइरहेको बताए । यस्तै वन कार्यालयले बिहीवार पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको रा १ च ९४० नम्बरको सेतो पिकअपमा लोड गरिएको सालको चिरान काठसहित राप्ती गाउँपालिका वडा नम्बर २ बराखुटी निवासी ३१ वर्षिय केशव विकलाई सिसहनियाँबाट पक्राउ गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्